
९ जेष्ठ, हेटौंडा ।
नेपाल बुद्धिचाल महासंघको कार्यसमिति वैठकले निर्णय गरे बमोजिम महासंघको विशेष साधारणसभा भोलि जेष्ठ १० गते आइतबारका दिन क्लब हेटौंडा, हेटौंडा-४, मकवानपुरमा गर्ने भएको छ।
गत बैशाख १२ गते अध्यक्ष हेराकाजी महर्जन तथा महासचिव धरमबहादुर लामा विरुद्ध बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले ४० जना साधारणसभाका प्रतिनिधिहरुको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव निवेदन पेश गरेका थिए।
यसै अविश्वास प्रस्ताव माथि वैशाख ३० गते बसेको वैठकले विधानको परिच्छेद ७ दफा २२ उपदफा २ मा स्पष्ट रूपमा उल्लेखित “उपदफा १ बमोजिम दर्ता हुन आएको अविश्वासको प्रस्ताव माथि छलफल र निर्णयका लागि सम्बन्धित कार्यसमितिले ३५ दिन भित्र विशेष साधारणसभा बस्ने गरि सूचना दिनु पर्नेछ।” भन्ने व्यवस्था अनुसार मिति, समय र स्थानको निर्णय भएको थियो ।
पुनश्चः केन्द्रीय कार्यसमितिले बहुमतद्वारा अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि बिशेष साधारणसभा मकवानपुरको हेटौंडामा गर्ने निर्णय भएको थियो। यद्यपि सो स्थानका सम्बन्धमा केहीले लिखित असहमति जनाएका थिए।
विशेष साधारणसभामा पर्यवेक्षकको निष्पक्ष भूमिकाका लागि आफ्नो छाता संस्थाहरु वर्ल्ड चेस फेडेरेशन तथा राष्ट्रिय खेलकुद परिषदमा लिखित जानकारी पेश गरिएकोमा फिडे डेलिगेट अमित खन्नालाई नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा तथा सचिवालय सदस्य बालाराम पुनद्वारा हेटौंडामा स्वागत गरिएको छ।
यसै सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधिवाट खेल संघको वृहत्तर बिकासका लागि विशेष साधारणसभामा आइपुग्ने अध्यक्ष हेराकाजीले बताए।
विधानको परिच्छेद ३ दफा १० उपदफा ५ को (घ) अनुसार साधारणसभामा कम्तिमा ५१% सदस्य उपस्थित भए पछि सभाको गणपुरक संख्या मानिनेछ। नपुग भएमा ३३% सदस्यलाई गणपुरक मानिनेछ। तर दोस्रोमा पनि संख्या नपुग भएमा तेस्रो आह्वानमा उपस्थित संख्यालाई नै गणपुरक मानिनेछ। यसरी आह्वान गरिएको विधिलाई नै विधानले मान्यता दिएको छ।
नेपाल बुद्धिचाल महासंघका साधारणसभा सदस्य ११८ जना मध्ये ७ जना प्रतिनिधिहरुले कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराउदै हेटौंडामा सम्पन्न हुने सभाका लागि सहमत सहित शुभकामना सन्देश पठाएका छन्।
अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाई प्रतिनिधि र विफल गर्न एकतिहाई प्रतिनिधि आवश्यक रहने विधानको व्यवस्था रहेकोमा शनिबार साँझसम्म हेटौंडामा ५२ जना उपस्थित भइसकेको र यो क्रम जारी रहेको प्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन्।
प्रस्तावको पक्षमा हस्ताक्षर गर्नु हुने प्रतिनिधि साथीहरूलाई लामो इतिहास बोकेको नेपाल बुद्धिचाल महासंघलाई गतिशील बनाउन आफ्नो भूमिकामा पुनर्विचार गर्नुहुन अध्यक्ष महर्जनले आह्वान गरेका छन्।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]