विराज र विकेशले न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण गर्ने

"Football Is For Everyone", "फुटबल सबैको लागि हो" हो भन्ने नारा सहित टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टर बीच न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य सहित सम्झौता भएको छ ।
टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा बालबालिकाहरूको फुटबल कौशल विकास गर्ने लक्ष्य सहित सञ्चालन गरिएको संस्था हो भने नियो चाइल्ड कियर सेन्टर विगत लामो समय देखि राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियोथेरापिस्ट द्वय शमेद कतिला श्रेष्ठ र सुरज भुसालद्वारा सञ्चालित अटिजम स्पेक्ट्रम डिसअर्डर र डाउन सिन्ड्रोम भएका बालबालिकाहरू सहित न्यूरोडाइभर्स बालबालिकाहरूका लागि शैक्षिक तथा विशेष सेवाहरू प्रदान गर्दै आएको संस्था हो ।
सम्झौता अनुसार नियो चाइल्ड कियर सेन्टरको सहकार्यमा टुवेल्भ फुटबल ट्रेनिङ सेन्टरले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) तथा डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै “सँगै खेलौँ: Let's Play Together” नामक विशेष कार्यक्रम सञ्चालन गरिनेछ । टुवेल्भ फुटबल ट्रेनिङ सेन्टरले आफ्नो नियमित ग्रासरुट प्रशिक्षण कार्यक्रम सँगै यो विशेष कार्यक्रम सुचारु गर्न लागेको हो । सामान्य बालबालिकाहरू र यी बालबालिकाहरूको प्रशिक्षण भने फरक समयमा हुने छ ।
नेपालमा अधिकांश खेल प्रशिक्षण केन्द्रहरूले सामान्य रूपमा विकास भएका बालबालिकालाई लक्षित गरी फुटबल लगायतका खेलकुद प्रशिक्षण सञ्चालन गर्दै आएका छन्। तर, अटिजम, ADHD, बौद्धिक अपांगता तथा अन्य न्यूरोविकाससम्बन्धी अवस्थाका कारण सामाजिक अन्तरक्रिया तथा समूहगत गतिविधिमा सहभागी हुन कठिनाइ अनुभव गर्ने बालबालिकाहरूका लागि खेलकुदमा पहुँच अझै सीमित रहेको अवस्था छ। यस आवश्यकतालाई सम्बोधन गर्न यो साझेदारी स्थापना गरिएको ह । फुटबलमार्फत सामाजिक अन्तरक्रिया, सञ्चार क्षमता, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती तथा समूहमा काम गर्ने सीपको विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
सम्झौताअनुसार, नियोले इच्छुक बालबालिकाको मूल्याङ्कन गरि प्रशिक्षणको लागि सिफारिस गर्नेछ भने टिएफटिसीले सिफारिस भएका बालबालिकालाई प्रशिक्षण दिनेछ । कार्यक्रमको पहिलो चरणमा २० जना बालबालिकालाई समेटिनेछ र प्रारम्भिक तीन महिनासम्म प्रत्येक शनिबार मात्र प्रशिक्षण सञ्चालन गरिनेछ। कार्यक्रमको प्रभावकारिता तथा सहभागीहरूको प्रतिक्रिया अनुसार प्रशिक्षण अवधि थपिने योजना रहेको छ।
यस कार्यक्रमअन्तर्गत शारीरिक रूपमा फुटबल खेल्न सक्षम ६ वर्ष वा सोभन्दा माथिका विशेष आवश्यकता भएका बालबालिकाहरूलाई सुरक्षित र सहयोगात्मक वातावरणमा फुटबल प्रशिक्षण प्रदान गरिनेछ। प्रारम्भिक चरणमा हप्तामा एक वा दुई दिन प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको छ भने प्रशिक्षण शुल्क तथा अन्य व्यवस्थापन सम्बन्धी विषयहरू आपसी सहमतिमा टुंगो लगाइनेछ।
यो साझेदारी पूर्ण रूपमा सामाजिक उत्तरदायित्व मा आधारित कार्यक्रम हो। कार्यक्रमअन्तर्गत कम्तीमा १० प्रतिशत बालबालिकालाई निःशुल्क प्रशिक्षण सुविधा उपलब्ध गराइनेछ।
न्यू चाइल्ड केयर सेन्टरले प्रशिक्षकहरूलाई न्यूरोडाइभर्सिटी, विशेष आवश्यकता भएका बालबालिकासँगको व्यवहार, समावेशी खेलकुद अभ्यास तथा आवश्यक सहयोगका विषयमा अभिमुखीकरण तथा प्राविधिक सहयोग प्रदान गर्नेछ। यसले प्रशिक्षकहरूलाई समावेशी खेलकुद वातावरण निर्माण गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ।
दुवै संस्थाले यस समझदारीलाई केवल खेल प्रशिक्षण कार्यक्रमको रूपमा नभई विशेष आवश्यकता भएका बालबालिकाहरूलाई समाजको मूलधारमा जोड्ने, उनीहरूको सामाजिक सीप विकास गर्ने, आत्मविश्वास बढाउने र खेलकुदमार्फत समान अवसर सुनिश्चित गर्ने एक महत्वपूर्ण सामाजिक अभियानका रूपमा लिएका छन्।
यस कार्यक्रमको प्रमुख उद्देश्यहरूमा सामाजिक समावेशीकरणलाई प्रोत्साहन गर्ने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा न्युरोडाइभर्स बालबालिकालाई फुटबलमार्फत समुदायसँग अझ नजिक जोड्ने रहेका छन्। हामीले यो कार्यक्रम नेपालमा समावेशी खेलकुद विकासको एउटा नमुना परियोजनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् । खेलकुद सबैका लागि हो भन्ने मान्यतालाई आत्मसात गर्दै दुवै संस्थाले न्युरोडाइभर्स बालबालिकालाई सुरक्षित, सहयोगी र उत्साहजनक वातावरणमा सिक्ने, रमाउने र आफ्नो क्षमता विकास गर्ने अवसर प्रदान गर्ने प्रतिबद्धता गरेका छौं।
कार्यक्रम असार महिना बाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको प्रभावकारिता अनुसार फुटबल सँगै अरुखेल्कुद पनि थपिदै लाग्ने उद्देश्य रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women