← समाचारमा फर्कनुस्
Martial Arts Feb 28, 2024 · Swadesh

बक्सिङको ओलम्पिक छनोटमा दुई खेलाडी

बक्सिङको ओलम्पिक छनोटमा दुई खेलाडी

इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् ।

टिम व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहेका छन् । मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्ने छ ।

ओलम्पिकको बक्सिङमा नेपालले सहभागिता नजनाएको ३२ वर्ष भइसकेको छ । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५ औं संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।

नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले पाँच महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जनाएका छन् । इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छानिने छन् । उपाध्यक्ष अवालेका अनुसार पदक प्राप्त गर्ने खेलाडीले पेरिस ओलम्पिकका लागि छनोट हुने छन् । इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एक छनोट प्रतियोगिता हुनेछ । त्यो प्रतियोगिता थाइल्यान्डको बैंककमा मे महिनामा हुने तालिका छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले भने– ‘नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता नजनाएको ३२ वर्ष भएछ । यो लामो समय हो । सायद अबको समय तपाईं दुई जनाको हुन सक्छ । उत्कृष्ट प्रदर्शन गरेर आफूलाई प्रमाणित गरी इतिहास रच्नुस् । तपाईंहरुलाई शुभकामना छ ।’ सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकका लागि परिषद्ले नयाँ ढंगले तयारी अगाडि बढाउने बताए । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →