
पोखरा- त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो ।
आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दिपा शाही र हिमा चौधरीले एक–एक गोल गरिन् । संकटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले गोल गोल गरिन् ।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको निर्धारित समय सकिएपछि थप गरिएको एक मिनेटमा आर्मीका लागि दिपाले अग्रता दिलाइन् । तुलसा बोहोराको पासमा उनले सहज गोल गरिन् ।
दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता दोब्बर पा¥यो । ४७ औं मिनेटमा संकटाकी गोलरक्षक सुशिला चौधरीले डिफेन्स लाइनबाट आएको बललाई लङसट खेल्न खोज्दा आर्मीकी चन्द्राले गोल गरिन् । उनले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारिन् ।
३–० ले पछि परेको संकटाका लागि ७० औं मिनेटमा क्वीनवेल अमक्राहले उत्कृष्ट गोल गर्दै खेलमा फर्काउने प्रयास गरिन् । लगत्तै ७२ औं मिनेटमा संकटाले फ्रिकीकमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पु¥याएको थियो । लिसिया मोकाम्बिकले प्रहार गरेको फ्रिकीकमा आर्मीकी गोलरक्षक कोपिला खड्काले समात्ने प्रयास गर्दा बलले जाली चुमेको थियो ।
निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको ८ मिनेटमा आर्मीकी हिमा चौधरीले गोल गरिन् । जित संगै आर्मीले फाइनलमा नेपाल पुलिसको सामना गर्नेछ । नेपाल पुलिस क्लबले यस अघि आयोजक आर.एस. पोखरा फुटबल क्लबलाई ८–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल भोलि २ बजे हुनेछ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने भएको आयोजक आर एस पोखरा फुटबल क्लबले जनाएको छ । गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक पोखरामा महिला गोल्डकपको आयोजना गरिएको आयोजकको दाबी छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]