
काठमाडाैं। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्टको होला भन्ने चर्चा चल्न थालेको छ। मञ्चले वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ।
पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका ५ जना खेलाडीको लागि भने दुई सातायता भोटिङ भइरहेको छ। जसमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका छन्। मनपर्ने खेलाडीलाई खल्ती एपमा गई भोटिङ गर्ने सुविधा छ। सर्वाधिक भोट ल्याउनेमध्ये एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन्। त्यसका लागि पोखरा न्यूरोडको गुरुङ गहनाघर प्रालि स्कुटर प्रायोजन गरिसकेको मञ्चले जनाएको छ। भोटिङ पार्टनर खल्ती रहेकाे छ।
दीप कार्की (फुटबल)
दीप कार्की जसको टिममा लिडिङ, सेभिङ तथा पेनाल्टी गरी सबै पक्ष राम्रो भएका खेलाडी हुन्। दोलखा जिल्लाको बोथ गाउँमा जन्मिएका कार्की ६ महिनाकै हुँदादेखि पोखरा आएका हुन्। हाल पोखरा बगर निवासी उनी २८ वर्ष भए। सुरुआतमा उनले कास्की लिग खेले। बिस्तारै विभिन्न प्रतियोगितामा सफलता हात पर्दै गए पछि सन् २०१९ मा राष्ट्रिय टिममा पर्न सफल भए। सन् २०२२ मा त उनले कुवेतमा भएको एशियन क्वालीफायर्समा डेब्यू गरे।
गत वर्ष काठमाडौंमा सम्पन्न सभापति कप संकटा क्लबबाट खेल्दा उनी बेस्ट फ्लेयर हुन सफल भए। सन् २०१९ को सहिद स्मारक ए डिभिजन लिगमा मनाङबाट खेल्दा उनी उत्कृष्ट गोलकीपर घोषित भएका थिए। सन् २०२३ मा हेटौडा गोल्डकपमा बेस्ट प्लेयर हुँदै बुलेट मोटरसाइकल चढेका थिए। विभिन्न क्लबबाट खेलिसकेका उनी धेरैजसो चर्च ब्वाइजबाट खेलेको बताउँछन्। गत वर्ष उनी २५औं संस्करणको आहा रारा पोखरा गोल्डकप खेल्दा चर्च ब्वाइजमा थिए।
नारायणी भण्डारी
गएको जेठमा १५ औं राष्ट्रपति रनिङ शिल्डमा कीर्तिमानसहित उत्कृष्ट प्रदर्शन गरेकी नारायणी भण्डारी आफैँलाई पनि कति इभेन्ट खेलेर कति वटा पदक हात पारेँ भन्ने हेक्का छैन। भाग लिएका हरेकजसो प्रतियोगितामा उनलले कुनै न कुनै पदक नजिती फर्किन्नन्।
१५औं राष्ट्रपति रनिङ शिल्डमा उनले २८ वर्षअघिको रेकर्ड तोडेर चर्चामा आएकी थिइन्। ८०० मिटर दौड उनले मात्र २ मिनेट १७ सेकेण्ड ९ मिली सेकेण्डमा पूरा गर्न सफल भइन्। त्यसअघिको टीका चौधरीको नाममा २ मिनेट २८ सेकेण्ड ९ मिलीसेकेण्डको रेकर्ड थियो। सोही प्रतियोगितामा उनले १५०० मिटरमा स्वर्ण र रिले दौडमा रजत पदक हासिल गरेकी थिइन्।
प्रदेश खेलकुद परिषद् गण्डकीले उनको यो उपलब्धिको कदर गर्दै वर्षको सर्वोत्कृष्ट खेलाडीको रुपमा नगद ४३ हजारसहित पुरस्कृतसमेत गरेको थियो। पोखरा ओपन नेशनल एथलटिक्स मिट–२०२५ मा उनी १५०० मिटर दौडमा समेत सिनियर नेशनल च्याम्पियन बन्न सफल भएकी थिइन्।
छोरेपाटन स्कुलकी यी छात्रा नारायणीले यतिखेर १२ को परीक्षा दिइरहेकी छन्। पोखरा स्पोर्टस् अवार्डको पिपल च्वाइस अवार्डमा मनोनयनमा परेपछि खुसी हुँदै उनी भन्छिन्, ‘नयाँ अपरच्यूनिटी पाइयो। यसले हामीलाई अझ हौसला दिन्छ। खेलाडीको मनोबल बढ्दै जाँदा अरु खेलाडीहरु पनि उत्पादन हुँदै जान्छन्।’
राजन दर्लामी (भलिबल)
राजन दर्लामी मगर १३ वर्षको उमेरदेखि नै भलिबल खेलिरहेका छन्। जब उनी भलिबल कोर्ट उत्रिन्छन्, उनका फ्यान राजनको पक्षमा हुटिङ गरिरहेका हुन्छन्। स्याङ्जाको चापाकोट ५, सेखामका यी लिबेरोले हालै छैटौं संस्करणको टाइगर कप भबिबल प्रतियोगिता र नवलपुरमा भएको दोस्रो संस्करणको जिएम कपमा टिमलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए। जिएम कपमा त उनलाई बेस्ट डिफेन्डरको उपाधि दिइएको थियो। रुकुमको टकसेरामा गत वर्षको ३०औं वार्षिक राष्ट्रिय भलिबलमा पनि उनको टिम तेस्रो हुन सफल भएको थियो।
उनले हालै सम्पन्न पीएम कप एनभीए भलिबल लिगमा बेस्ट डिफेन्डरको उपाधि जितेका थिए। त्यसअघि, २०७७ सालको टाइगर कप होस् वा ०७३ सालको काठमाडौंमा सम्पन्न नयाँबजार राष्ट्रिय च्याम्पियनसिपमा पनि सोही उपाधि हात पारेका थिए। २०६२÷६३ सालयता विभिन्न ठाउँ पुगेर उनले थुप्रै प्रतियोगितामा भाग लिएको अनुभव सुनाउँछन्। उनी सम्मिलित रुकुम भलिबल टिम फेरि विदेशमा काभा खेल्न जाँदैछ।
गाउँघरमा भलिबल खेल्दाखेल्दै उनमा खेलप्रति मोह जागेको रहेछ। बीचमा सिंगापुर पुलिसमा देखाएका उनी असफल बनेपछि कोरिया जान भाषा परीक्षा पनि नपढेका होइनन्। आखिर उनलाई भलिबलबाटै नाम दाम कमाउन लेखेको रहेछ। उनी भन्छन्, पिपल च्वाइस अवार्डमा पर्नु मेरो लागि सफलता हो। नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सम्पूर्ण संघसंस्था तथा सरकारी पक्षबाट सहयोग हुनुपर्छ।’ आफ्नो सबै रहर सबै कुरा त्यागेर खेलिरहेको छु, राज्यको लागि खेल्ने खेलाडीहरुका लागि केही न केही राहत होस्।’
विपीन खत्री (क्रिकेट)
लेफ्टआर्म स्पीनर तथा राइट ह्याण्ड ब्याट्सम्यान पोखरेली विपिन विगत १५ वर्षदेखि क्रिकेट खेलिरहेका छन्। विगतमा यु–१९ विश्वकप क्रिकेट टोलीको बन्दसत्रमा छनोटपछि त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन। २८ वर्षीय खत्रीले गण्डकी प्रदेशको पुरुष सिनियर टोलीको कप्तानी सम्हालिसकेका छन्। उनी हाल नेपाल ए टिमबाट स्कटल्याण्ड र युएसएसँगको सिरिज खेलिरहेका छन्। उनी सम्मिलित नेपाल ए ले स्कटल्याण्ड र युएसएसँग एक एक जित हात पारिसकेको छ।
विगतमा धनगढीमा सम्पन्न मुख्यमन्त्री क्रिकेट कपमा उनी उत्कृष्ट बलर घोषित हुँदा सन् २०१६ मा काठमाडौंमा सम्पन्न प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उदियमान खेलाडीको उपाधि पनि उनकै पोल्टामा परेको थियो। विपीन आफूलाई क्रिकेटको मोह स्कुले जीवनकालमै बसेको बताउँछन्। प्रधानमन्त्री कपदेखि इपिएल, डिपीएल र पिपिएलमा खेलिसकेका उनी पाँचौ संस्करणको स्पोर्टस् अवार्डमा उदीयमान विधामा पौडीकी डुवाना लामा र टेनिसका प्रदीप खड्कासँग प्रतिस्पर्धामा थिए। पोखरा स्पोर्टस् अवार्डमा दोस्रोपल्ट मनोनयन परेकामा निकै खुसी लागेको उनको प्रतिक्रिया छ।
प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देल विपीनलाई निकै राम्रो खेलाडी भएको बताउँछन्। उनले भने, ‘पिएम कपमा उनले लामो समयदेखि डिजर्भिङ गर्दै आएका छन्। नेपाल एमा पनि राम्रो गरेका छन्।’
सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो÷मुआथाई)
२०६० सालमा बागलुङको बडिगाड गाउँपालिका १० मा जन्मिएकी सुस्मिता थापामगर आएटीएफ तेक्वान्दो र मुवाथाई दुबैको राम्रो प्लेयर हुन्। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेकी उनले छोटो समयमै उचाई हासिल गरिसकेकी छिन्।
विश्व मुआथाई परिषद् (डब्लुबिसी) को महिला र्यांकिङमा सूचिकृत हुन सफल नेपाली खेलाडी सुस्मिताले यसअघि नेपालमा भएका ३ ठूला प्रतियोगिताहरु जितेर सनसनी मच्चाएकी थिइन्। कक्षा ६ पढ्दा भलिबल खेलेकी उनी विद्यालयस्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक जिते पनि २०७४ कार्तिकमा उनी पढ्दै गरेको भानु निमाविमा रवीन्द्र बुढामगरले आईटीएफ तेक्वान्दो डोजाङ सञ्चालन गरेपछि तेक्वान्दोमा आकर्षित भएको बताउँछिन्।
खेलमा राम्रो गर्दै आएकै कारण उनी अघिल्लो वर्ष नेपाल तेक्वान्दो महासंघबाट उत्कृष्ट खेलाडीसमेत घोषित भएकी थिइन्। पोखरा स्पोर्टस् अवार्डमा धेरैजसो मनोनयनमा पर्दै आएकी उनी पछिल्लो नवौं संस्करणमा भने भलिबलकी अरुणा शाहीलाई अवार्ड सुम्पिएकी थिइन्। यसपालि पुनः पिपुल्स च्वाइसको मनोनयनमा पर्न सफल भएकी छन्।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]