Share on:

रिह्याबका लागि कतारको अस्पेटार अस्पताल पुगिन् सावित्रा भण्डारी
May 5th, 2026

काठमाडौं। नेपाली महिला फुटबल टोलीकी कप्तान तथा स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) शल्यक्रियापछिको ‘रिह्याबिलिटेसन’का लागि कतारस्थित आस्पेटर अस्पताल पुगेकी छन्। 


सामाजिक सञ्जालमार्फत साेमबार जानकारी दिँदै उनले अबका केही महिना त्यहीँ बसेर उपचार प्रक्रियालाई निरन्तरता दिने बताएकी हुन्।


साम्बाले कठिन समयमा साथ दिने समर्थक, आफ्नो क्लब तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्य सुधार भएकाे उल्लेख गरेकी छन्। उनले शल्यक्रियापछि आफू पुनः मैदान फर्किन निरन्तर मेहनत गरिरहेको बताएकी छन्।


नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान सावित्रा नेपाली महिला फुटबलको सबैभन्दा सफल खेलाडीमध्ये एक हुन्। उनी नेपालको सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा परिचित छिन्। हाल उनी अष्ट्रेलियाली लिगअन्तर्गतवेलिङ्टन फिनिक्स एफसीमा आबद्ध छिन्। यसअघि उनले भारतको महिला लिग गोकुलम केरल एफसी र फ्रान्सको शीर्ष डिभिजन क्लब एन आवाँ ग्याँगाँपबाटसमेत खेल्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबललाई चिनाएकी थिइन्।



सावित्राले पोस्टमार्फत नेपालमा फुटबलको वर्तमान अवस्थाप्रति चिन्ता समेत व्यक्त गरेकी छन्। एकातर्फ आफू मैदान फर्किन संघर्षरत रहे पनि अर्कोतर्फ नेपाली फुटबलको अवस्था देखेर निराश भएको उनको भनाइ छ। यद्यपि, छिट्टै नेपाली फुटबलको अवस्था सुधार हुनेमा उनले आशा व्यक्त गरेकी छन्।


Swadesh Maharjan | May 5th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya