भोलि आइतबार दक्षिण कोरियामा टोटनहम र न्युकासल युनाइटेडबीच एउटा मैत्रीपूर्ण खेल हुँदैछ र सम्भवतः यो खेल हुनेछ, सन ह्वेङ–मिनको उत्तरी लन्डन क्लबका लागि अन्तिम खेल । उनले टोटनहमलाई भनिसकेका छन्, ‘म अब टोटनहम छाड्न चाहन्छुं ।’
ह्वेङ–मिनले टोटनहममा दस वर्ष जतिको समय बिताइसकेका छन् । सोलको विश्वकप स्टेडियममा हुने खेल हेर्न ६६ हजार दर्शकको उपस्थिति रहने अपेक्षा छ र हुन सक्छ, त्यहींबाट उनले क्लबबाट बिदाइ पनि लिने छन् । हुन के पनि सक्छ भने ह्वेङ–मिनको अबको गन्तब्य अमेरिका हुन सक्छ ।
एमएलएस क्लब लस एन्जलसले उनमा रूचि देखाइरहेको छ । यति बेला ह्वेङ–मिन नयाँ जीवन र त्यसै अनुसारको नयाँ चुनौती सामना गर्न चाहन्छन् । टोटनहमले पनि आफ्ना यी प्रिय खेलाडीको इच्छामा कुनै बाधा नपुर्याउने नीति लिएको देखिन्छ ।
टोटनहमका नयाँ प्रशिक्षक थोसम फ्रान्कले पनि यस्तै संकेत देखाएका छन् । सन् २०१५ मा ह्वेङ–मिन बायर लेभरकुजनबाट टोटनहम आएका थितए । यसक्रममा उनले ४ सय ५४ खेलमा १ सय ७३ गोल गरे । पछिल्लो सिजन टोटनहमले उनकै नेतृत्वमा युरोपा लिग जितेको थियो ।