Share on:

भक्त राना स्मृति चेस भोलिदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
August 26th, 2025

काठमाडौं । भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता राजधानीमा वुधबार सुरु हुँदैछ, जहाँ दुई लाख चार हजार रुपिया पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।


माओवादी केन्द्रनिकट अखिल नेपाल चेस संघ (एन्का) ले पूर्वछापामार भक्त रानाको स्मृतिमा फिडे रेटिङ १९०० मुनिका खेलाडी सहभागि हुने गरी प्रतियोगिता आयोजना गरेको हो । काभ्रेका रानाको निधन २०८१ साल भाद्र ११ गते भएको थियो ।


नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका एन्का अध्यक्ष दिपेन राईले भने, ‘खेलप्रेमीसमेत रहेकाले उहाँ (भक्त राना) को स्मृतिमा चेस प्रतियोगिता आयोजना गरिएको हो । नयाँ र प्रतिभावान खेलाडीलाई अवसर दिनको लागि १९०० रेटिङमुनिका खेलाडीलाई समावेश गरिएको हो । प्रतियोगितामा करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।’


दस मिनेट र इन्क्रिमेन्ट १० सेकेन्डको र्यापिड चेसमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार र शीर्ष दसमा अटाउनेले जनही ६ हजार रुपिया पाउनेछन् । महिला, अनरेटेड, यू ८, यू १०, यू १२, यू १४, यू १६, यू १८, सातै प्रदेशका उत्कृष्ट खेलाडी, रेटिङ १८०० मुनि र १७०० मुनिका उत्कृष्ट गरी ३२ खेलाडी नगद पुरस्कारका हकदार हुनेछन् ।


हिमालयन चेस एकेडेमीको सहयोगमा होटेल रोयल एयरपोर्ट, सिनामंगलमा सञ्चालन हुने दुई दिने प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने एन्का अध्यक्ष राईले बताए । एन्काले गत वर्ष फिडेमास्टर (एफएम) सुजेन्द्र श्रेष्ठ स्मृति भेट्रान चेस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेपछि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिएको थियो ।


२०८२ साल भाद्र १० गते मंगलबार


Swadesh Maharjan | August 26th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya