Share on:

एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी अर्को सातादेखि सञ्चालन हुने
December 3rd, 2025

काठमाडौं । २०८२ साल मंसिर १७ गते वुधबार


केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देष्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । यसमा काठमाडौं उपत्यका छनौट प्रतियोगिता आइतबार सुरु हुँदैछ ।


उपत्यका छनौट प्रतियोगिता थिमि, भक्तपुरस्थित मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन सञ्चालन हुनेछ, जहाँ आठ स्कुलले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं उपत्यका छनौटको विजेता टिम (स्कुल) राष्ट्रिय स्तरको एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गर्नेछ ।


त्यस्तै, क्षेत्रीय स्तरमा छनौट प्रतियोगिता पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि आयोजना गरिनेछ । प्रत्येक क्षेत्रका छनौटका विजेता गरी कुल ६ टिमले एनकेएल सिजन २ कै अवसरमा हुने एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।


एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । ग्रासरुटबाट उत्पादित खेलाडी नै व्यावसायिक लिगको लागि तयार हुने विश्वास गरिएको छ ।


बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।


राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।


Swadesh Maharjan | December 3rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya