Share on:

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने
April 20th, 2026

७ बैशाख , ललितपुर ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगिताहरु बारे   महत्वपुर्ण निर्णयहरु गरेका छन्। 


बैठकले बैशाख १६ देखि १८ गतेसम्म नेशनल रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप गर्ने निर्णय सँगै  प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मेवारी काठमाडौं स्थित क्षेत्रपाटी क्लवलाई प्रदान गरिएको छ ।


यस्तै जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २७ औं खुल्ला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि नेशनल ‘बी’ छनौट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेकाे छ।


राष्ट्रिय बी छनौट प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवस्थापनको जिम्मेवारी काँकडभिट्टा स्थित नाइट चेस क्लब लाई प्रदान गरिएको छ। उक्त छनौट प्रतियोगिताबाट पुरुष तथा महिला दुबैतर्फ गरि ९/९ जना खेलाडीहरु नेशनल ‘ए’ को लागि छनौट हुनेछन् ।


त्यसैगरि नेशनल ‘ए’ पुरुष तथा महिलाको राष्ट्रिय प्रतियोगिता जेठ २९ देखि असार ४ गतेसम्म कास्कीमा सञ्चालन हुनेछ। राष्ट्रिय प्रतियोगिताबाट समान चार चार जना खेलाडीहरु उज्बेकिस्तानमा हुने ४७ औं चेस ओलम्पियाडका लागि छनौट गर्नेछन् । 


वार्षिक रुपमा नियमित आयोजना हुँदै आएका सात विधागत राष्ट्रिय प्रतियोगिताहरु मध्ये जेठ १० देखि १२ गतेसम्म ललितपुरमा नेशनल जुनियर चेस च्याम्पियनसिपको समेत आयोजना गर्ने निर्णय गरेको छ ।


नेपाल बुद्धिचाल महासंघले आफ्नो विधान अन्तर्गत नियमित साधारणसभा मधेस प्रदेशको धनुषा स्थित जनकपुरधाममा गर्ने निर्णय गरेको छ । 


सो को लागि महासंघले सार्वजनिक सुचना सँगसँगै पत्राचार मार्फत निर्धारित समयसिमा भित्र अधिवेशन सम्पन्न गरेका २० जिल्लाहरु छन्। 


जम्मा ५५ जिल्ला संघहरु मध्ये अधिवेशन हुन नसकेका जिल्लाहरुको हकमा चेस खेलको गतिविधि भए नभएको सकृयता अनुगमन गरि मुल्यांकनका आधारमा जिल्ला बुद्धिचाल संघ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।


अनुगमन उपसमितिमा अध्यक्ष हेराकाजी महर्जन संयोजक वरिष्ठ उपाध्यक्ष दिपेन राई, उपाध्यक्ष माधव प्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जैसवाल सदस्य रहने गरि उपसमिति गठन गरेको छ। 


यस उपसमितिले एक हप्ता भित्र रिपोर्ट तयार गरि बैशाख १२ गते बस्ने कार्य समितिको बैठकमा जिल्लाहरुको तदर्थ समिति गठनको लागि प्रतिवेदन पेश गर्नेछन् ।


महासंघले आगामी नेशनल रापिड र ब्लिट्ज चेसको प्रमुख निर्णायकमा एफए सोराज ताम्राकार तथा नेशनल बी को प्रमुख निर्णायकमा एफए भुपेन्द्र निरौलालाई जिम्मेवारी प्रदान गरिएको छ।


Swadesh Maharjan | April 20th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya