काठमाडौं– नेपालमा बैधानिक ओलम्पिक कमिटीबारे विवाद चर्किरहेको बेला ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को त्यस्तो निर्णय बाहिर आएको छ, जसले आधिकारिक को हो भन्ने भ्रम फेरि एकपल्ट हटाएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र नेपाल घोडाचढी संघका अध्यक्ष रवि राजकर्निकारलाई दुई वर्षको प्रतिबन्ध लगाएको हो ।
ओसीएको अगस्ट २८ मा बसेको कार्यकारी बैठकले यो निर्णय गरेको हो र त्यस अनुसार ओसीएससँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् । ओसीएकै एथिक्स कमिटीको निर्णय र सिफारिसमा यो निर्णय गरेको पनि जनाएको छ ।
त्यति मात्र होइन्, उसले प्रतिबन्ध तत्काल लागू हुने भनेको छ । एथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारंगीले पत्र लेख्दै प्रतिबन्धबारे जानकारी दिएको हो । यसअघि ओसीएले उनीहरूलाई नै ९० दिनको प्रतिबन्ध लगाएको थियो । श्रेष्ठ र राजकर्निकार दुवै ध्रुवबहादुर प्रधानको नेतृत्वमा गठिन तथा सरकार समर्थित नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीमा सदस्य रहेका छन् ।
श्रेष्ठ जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको पछिल्लो कार्यकालमा महासचिव समेत थिए । यस्तै राजकर्निकारले पनि लामो समयदेखि ओलम्पिक कमिटीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । पछिल्लो पटक भने उनीहरू सरकार समर्थित खेमामा छन् ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]