३१ बैशाख, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बुधबार भएको खेलमा रोएल्स र गोल्डेनगेट बास्केटबल क्लब विजयी भएका छन् ।
रोएल्सले टाइम्स बास्केटबल क्लबलाई हराएर लिगमा पहिलो पहिलो जित हात पारेको छ ।
यसअघिका दुई खेलमा पराजित भएको रोएल्सले बुधबार टाइम्स क्लबलाई ८३-७१ ले पराजित गरेको हो ।
पहिलो जितपछि रोएल्सले ३ खेलबाट ३ अंक जोडेको छ । दोस्रो हार व्यहोरेको टाइम्सको पनि ३ खेलबाट समान ३ अंक नै छ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोएल्सले पहिलो क्वाटरमा १९-१५ को अग्रता लिएको थियो । त्यसलाई कायम राख्दै रोएल्सले अन्त्यसम्म अग्रता लियो । रोएल्सले दोस्रो क्वाटर २०-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ३९-२९ को अग्रता बनाएको थियो ।
रोएल्सले तेस्रो क्वाटर २०-१८ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटरमा दुवै टिमले २४-२४ अंक स्कोर गरेका थिए ।
विजयी टिम रोएल्सका लागि प्रसाङ ध्वज मास्केले सर्वाधिक २६ अंक स्कोर गरे । टाइम्सका लागि मनिष केसि र मबिन्द्र भण्डारीले समान १७ अंक स्कोर गरे । रोएल्सका विनोद महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
यस्तै बुधबारै भएको दोस्रो खेलमा गोल्डेनगेटले कीर्तिपुर बास्केटबल क्लबलको अपराजित यात्रा टुङ्गयाउँदै दोस्रो जित हात पारेको छ ।
गोल्डेनगेटले कीर्तिपुरलाई ९२-६५ ले पराजित गरेको हो । दोस्रो जितपछि गोल्डेनगेटले ३ खेलबाट ६ अंक जोडेको छ । पहिलो हार व्यहोरेको कीर्तिपुरको पनि ३ खेलबाट समान ६ अंक नै छ ।
पहिलो क्वाटर गोल्डेनगेटले २९-२१ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो क्वाटरमा कीर्तिपुरले पुनरागमन गर्दै २४-१९ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म गोल्डेनगेटले ४८-४५ को झिनो अग्रता बनाएको थियो ।
तर तेस्रो र चौथो क्वाटर २१-९ र २३-११ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले सहजै खेल जितेको हो ।
गोल्डेनगेटका लागि अजय कुश्वाहाले सर्वाधिक २२ अंक जोडे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर पनि घोषित भए । कीर्तिपुरमा लागि सयुन राईले १७ अंक स्कोर गरे ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]