
अन्ततः सबैको अपेक्षा अनुसार भारत टी २० विश्वकप २०२६ उपाधि जितेको छ । उसले आइतबार राति अहमदावादमा भएको फाइनलमा न्युजिल्यान्डलाई लगभग सजिलै जस्तो गरेर ९६ रनले हरायो । पहिले ब्याटिङको निम्तो पाएको भारतले पाँच विकेटमा २ सय ५५ रन बनाएपछि तय भइसककेको थियो, जित उसकै हुनेछ । एक लाख जति भारतीय समर्थक अगाडि न्युजिल्यान्डले जवाफमा १९ ओभरमा अलआउट हुन अगाडि १ सय ५९ रन मात्र बनाउन सक्यो ।
यस्तोमा प्रश्न उठेको छ, भारत विश्व क्रिकेटमा कति धेरै बलियो ? अमेरिकामा भएको पछिल्लो टी २० विश्वकप पनि भारतले नै जितेको थियो । त्यति बेला फाइनलमा उसले दक्षिण अफ्रिकालाई हराएको थियो । त्यति बेला हारको संघारमा रहेको भारतले अविश्वसनीय ढंगले दक्षिण अफ्रिकालाई हराएको थियो, यसपल्टको फाइनलमा त्यस्तो केही गाह्रो भएन् । यसक्रममा भारतले तीन ठूलो कीर्तिमानी उपलब्धी चुमेको छ ।
पहिलो, भारत आफ्नै घरेलु मैदानमा टी २० विश्वकप जित्ने पहिलो टिम भएको छ । दोस्रो, भारत डिफेन्डिङ च्याम्पियनका रूपमा टी २० विश्वकप उपाधिको रक्षा गर्ने पनि पहिलो टिम बनेको छ । अनि तेस्रो, टी २० विश्वकपमै भारत तीन पल्ट च्याम्पियन भएर सबैभन्दा सफल टिम भएको छ । अब दुई दुई पल्ट उपाधि जितेका इंग्ल्यान्ड र वेस्ट इन्डिज भारतको पछाडि रहे । अब टी २० विश्वकपमा भारत जत्तिको सफल टिम अरू रहेन् ।
सुपर एटको खेलमा भारत दक्षिण अफ्रिकाको हातबाट पराजित रहेको थियो, यही एक खेललाई छाडेर भारतको प्रदर्शन गज्जब रह्यो । धेरैलाई लाग्दो हो, अमेरिकाविरुद्ध पनि भारतको प्रदर्शन कमजोर रह्यो, तर सायद यो पनि धेरै हदसम्म होइन भन्न सकिन्छ । विश्व क्रिकेटमा भारत आर्थिक रूपमा सबैभन्दा शक्तिशाली छ, त्यसैले अचेल भारतले जे हुन्छ, सबैले त्यसैलाई मान्छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को झन झन ठूलो आकार र सफलताले विश्व क्रिकेटलाई पनि नतमस्तक जस्तै बनाएको छ ।
अहिले मैदानमा पनि भारतनै बलियो देखियो । अन्य टिमका लागि भारतको यो वर्चश्व तोड्न गाह्रै हुनेछ अबदेखि । सम्भवतः भारतलाई चुनौती दिन सक्ने टिममा अस्ट्रेलिया र इंग्ल्यान्ड मात्र हुन सक्छन् । अथवा केही हदसम्म दक्षिण अफ्रिका । भारतको प्रमुख प्रतिद्वन्द्वी पाकिस्तान त झन कहाँ हो कहाँ हुने गरेर पछाडि परेको छ । अब त पाकिस्तानले भारतविरुद्ध बलियो चुनौती पेस गर्ने दिन पनि रहेन जस्तो हुन थालेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]