
गत सिजन नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा बढी चर्चा बटुल्ने टिम थियो, कर्णाली याक्स । प्रचार प्रसारमा यो जत्तिको टिम अर्को कोही थिएन् । मैदानमा उसको प्रदर्शन पनि ठीकै रह्यो । प्ले–अफ मात्र पुगेन्, क्वालिफायर–टु पनि खेलेको थियो । खालि फाइनल मात्रै पुग्न सकेन् । यसपल्ट पनि कर्णालीको पहिलो लक्ष्य प्ले–अफमा प्रवेश नै रहनेछ । त्यसपछि मात्र टिमले थप सोच्ने छ ।
फेरि लिग चरणको समाप्तीमा शीर्ष चार स्थानका लागि कर्णाली योग्य पनि छ र यसको आधार हो, बलियो बलिङ पक्ष । राष्ट्रिय टिममा चार त्यस्ता अलराउन्डर खेलाडी छन्, जसको ब्याट त चल्छ नै, तर तिनीहरूको खास बलियो पक्ष भनेको फास्ट बलिङ नै हो । तिनीहरूमध्ये तीन जना सोमपाल कामी, गुल्सन झा र नन्दन यादव एउटै टिममा छन् र त्यो भनेको कर्णाली नै भयो ।
त्यसमध्ये सोमपाल त कप्तान नै भए । उनीसँग जोडिएको एउटा बलियो पक्ष के भने उनले नेतृत्व गरेको टिमले यसअघि धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग दुवै जितेको छ । यस्तोमा प्रश्न हो, के उनी यसपल्ट एनपीएल पनि जित्ने छन् त ? इच्छा त पक्कै हुँदै हो । तर यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न छ र यसको उत्तर प्रतियोगिता अगाडि बढ्दै जाँदा प्राप्त हुनेछ ।
प्रतियोगिता डे एन्ड नाइटको आधारमा हुँदैछ, फ्लड लाइट्समा । यस्तोमा फास्ट बलरको प्रदर्शन कस्तो हुने हो, त्यो हेर्न लायक नै रहनेछ । टिमका विदेशी खेलाडी पनि उत्कृष्ट छन् र त्यसमध्ये सबैभन्दा अगाडि आउने नाम हो, विलियम बोसिस्टो । उनले नै गत सिजन कर्णालीलाइ प्ले–अफमा पुग्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । अनि सबैको ध्यान एउटा आफ्नै खेलाडी हुनु पर्छ र उनी हुन्, लेग स्पिनर युवराज खत्री ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]