
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले एपीएफ क्लबलाई एक ओभरको एलिमिनेटरमा ८ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ।
निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले अलआउट समान १२४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। जसमा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै बाजी मार्न सफल भयो।
एक ओभरमा लुम्बिनीले एक विकेट गुमाएर १५ रन बनायो। १६ रनको लक्ष्य पाएको एपीएफले एक विकेट गुमाएर ६ रन मात्रै बनाउन सक्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफ क्लब ३९.४ ओभरमा १२४ रनमा समेटिएको थियो। एपीएफका लागि अविषेक गौतमले सर्वाधिक २८ रन बनाए। यस्तै दिपक बोहराले २० र सन्दीप जोराले १७ रनको योगदान दिए।
लुम्बिनीका लागि अजय चौहानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सन्तोष यादवले ३ तथा निर्मल गुरुङले २ विकेट झारे।
जवाफमा १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश पनि ३४ ओभरमा १२४ रनमै अलआउट भयो। लुम्बिनीका कप्तान देव खनालले ४५ रन बनाउँदा आकाश त्रिपाठीले ३२ रनको योगदान दिए।
एपीएफका लागि रोहित पौडेल, भुवन कार्की र युवराज खत्रीले समान २–२ विकेट लिए भने अविषेक गौतमले पनि महत्वपूर्ण विकेट हात पारे।
जितसँग लुम्बिनीले एपीएफलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट समान ५ अंक भएपनि लुम्बिनी अघि परेको हो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]