
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।
नारायणी क्रिकेट मैदान, वीरगञ्जमा सदूरले दिएको १६१ रनको लक्ष्य पछ्याएको मधेशले ३३.४ ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाउँदै सहज जित निकालेको हो।
मधेशका लागि अर्निको यादवले अविजित ४६ रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिए। मोहम्मद आदिल आलमले ३४ रन जोड्दा पवन सर्राफले २१ रन बनाए। कप्तान अनिल साह र मयान यादवले समान १३–१३ रन जोडेका थिए। अन्त्यतिर रुपेश सिंह १६ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए।
सुदूरपश्चिमका लागि अशोक धामीले ३ विकेट लिए भने शेर मल्लाले २ विकेट हात पारे। अन्य बलर प्रभावशाली बन्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश ४३.२ ओभरमा १६० रनमै अलआउट भएको थियो। अभिषेक पालले ३३ रन बनाउँदा किरण ठगुन्ना र नारायण जोशीले समान २३–२३ रनको योगदान दिएका थिए। अशोक धामी १९ रनमा अविजित रहे।
मधेशका लागि अर्निको यादवले ३ विकेट लिए। प्रदीप पासवानले २ विकेट लिँदा रुपेश सिंह, मोहम्मद आदिल आलम, आशिक बैठा र पवन सर्राफले समान १–१ विकेट लिए।
जितसँगै दुई खेलबाट मधेसले तीन अंक जोडेको छ। समान खेलबाट दुई अंक जोडेको सुदूरले पहिलो हार ब्यहोरेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]