
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई १८५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
३५६ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १७० रनमै समेटियो। एपीएफका लागि नन्दन यादवले अविजित ४४ रन बनाए भने कमल ऐरीले ३५ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
पुलिसका ललित राजवंशीले ३ विकेट लिए। करण केसी, राशिद खान र दिनेश खरेलले समान २–२ विकेट लिँदा सागर ढकालले १ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाएको थियो। पुलिसका लागि दिनेश खरेलले ६० रन बनाए भने शंकर रानाले ६१ रनको महत्वपूर्ण इनिङ्स खेले। कप्तान आरिफ शेखले ५० रन जोड्दा राशिद खानले ४४ रन बनाए।
अमित श्रेष्ठले ३९ रन र गुलशन झाले २३ रन बनाउँदा अन्तिमतिर दिलसाद अलीले अविजित ५१ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई विशाल योगफलसम्म पुर्याएका थिए।
एपीएफका लागि कमल ऐरी र अमर राउतेलाले समान २–२ विकेट लिए भने नन्दन यादव, रोहित पौडेल र युवराज खत्रीले एक–एक विकेट लिएका थिए।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]