इंग्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट भर्खरै सकिएको छ । त्यसमा विजयी रह्यो, इंल्यान्ड । एजबास्टनमा भएको खेलमा भारत विजयी रहेको थियो, ३ सय ३६ रनले । यो खेल धेरै कारणले सम्झिनेछ र यसको एउटा प्रमुख कारण रहनेछ, भारतीय कप्तान शुभमन गिलको प्रदर्शन । रनप्रति उनको भोक असाध्यै विशेष देखियो । ब्याटबाट उनकै उत्कृष्ट प्रदर्शनको मदतले भारतले सिरिजलाई १–१ कोरोमाञ्चक बराबरीमा पुर्याएको छ ।
भनिन्छ, कप्तानी कोही खेलाडीका लागि बोझ हुन्छ भने कसैका लागि आर्शिवाद । सायद २५ वर्षीय गिलका लागि कप्तानी ठीक समयमा भएको ठीक काम भएको छ । इंग्ल्यान्ड आउन अगाडि टेस्ट क्रिकेटमा उनको औसत थियो, ३६ रनभन्दा मुनि । तर यो सिरिजको दुई टेस्टमा उनले अहिले नै ५ सय ८५ रन बनाइसकेका छन्, त्यो पनि १४६.५ को औसतले ।
हेडिङ्लेमा भएको पहिलो टेस्टमा पनि उनले शतक बनाएका थिए । एजबास्टनमा भने उनले २ सय ६९ र १ सय ६१ रनको अद्धितीय इनिङ्स खेले । एजबास्टनको १ सय ४८ वर्षको इतिहासमा कोही एक ब्याट्सम्यानले एउटै खेलमा २ सय ५० र १ सय ५० रन भन्दा माथिको स्कोर बनाएको यो नै पहिलो पटक हो । यसले देखाउँछ, यो आफैमा कति दुर्लभ प्रदर्शन हो भनेर । गिलको प्रशंसा गर्नु पर्ने कारण उनले बनाएका रनकै लागि मात्र पनि होइन् ।
खासमा उनको प्रशंसा उनले यी दुई इनिङ्स जसरी बहादुरी, चलाखी, धैर्यपूर्ण र प्राविधिक रूपमा अब्बल ढंगले खेले, त्यसकै लागि हो । इंग्ल्यान्डका पूर्व कप्तान नासिर हुसेनले लेखेका छन्, ‘त्यसो त एजबास्टनको पिच ब्याट्सम्यानलाई मन गर्ने खालकै थियो । तर गिलले जसरी खेले र अरूले जसरी त्यही पिचमा खेल्न सकेनन्, त्यसले पनि देखाउँछ, उनको प्रदर्शन आफैका कति धेरै राम्रो थियो भनेर ।’
एजबास्टन टेस्टका एक अन्य नायक पनि थिए र उनी हुन्, भारतीय बलर आकाश दीप । उनले यो टेस्टमा १० विकेट लिए । उनले पहिलो इनिङ्समा छ विकेट लिए भने दोस्रोमा चार । समग्रमा उनले १ सय ४७ रन खर्चेर लिएर १० विकेट । भारतको यो प्रदर्शनपछि तय भएको छ, सिरिजका बाँकी तीन टेस्ट पनि उत्तिकै रोमाञ्चक र सनसनीपूर्ण हुनेछ ।