
अबको ट्वान्टी ट्वान्टी विश्वकपका क्रममा नेपाल विश्व क्रिकेट इतिहासको एउटा त्यस्तो अध्यायसँग जोडिनेछ, जसको अनुभव गर्दा पनि गर्व महसुस हुनेछ । यो प्रसंग हो, मुम्बईको वानखडे क्रिकेट स्टेडियमबारे । नेपालले विश्वकपमा जति पनि खेल खेल्नेछ, ती सबै यही ऐतिहासिक मैदानमा हुनेछ । यस्तोमा यो आइकोनिक क्रिकेट मैदानबारे थाहा नपाएर बस्नु कसरी ठीक हुन्छ र ?
मुम्बईको मेरिन ड्राइभको छेउमै रहेको यस रंगशालामा अरेबियन महासागरको हावा मस्त अनुभव गर्न सकिन्छ । खासमा यो कुनै आम क्रिकेट मैदान होइन्, यो समग्रमा भारतीय क्रिकेटकै इतिहासको एक भाग हो । सन् १९७४ मा यसका निर्माण भएको हो र यसको नाम जुरेको हो, सेसराव वानखडेको नामबाट । उनी मुम्बई क्रिकेट संघका पूर्व अध्यक्ष थिए ।
यो रगशाला निर्माणको सुरुआती एउटै कारण थियो, मुम्बईको टिमले ढंगले पहिलो श्रेणीको क्रिकेट खेल्न सकोस । यसको निर्माण के एकपल्ट सकियो, यसले भारतीय क्रिकेटसँग जोडिएका अनेक उपलब्धी आफ्नै आँखाले देख्न पाएको छ । भर्खरै मात्र भन्दा हुन्छ, यसले आफ्नो स्थापनाको ५० वर्ष मनाएको । यसक्रममा यस मैदानमा धेरै ठूला महत्त्वका खेल भएका छन् ।
त्यसमध्ये सबैभन्दा पहिले मनमा आउने खेल हो, सन् २०११ को अप्रिल २ मा भएको वान डे विश्वकपको फाइनल । भारतले श्रीलंकालाई हराएर यो विश्वकप जितेको थियो । भारतले वान डे विश्वकप जितेको यो २८ वर्षयता पहिलो पटक थियो । अनि यो त्यही मैदान हो, जहाँ सचिन तेन्दुलकरले आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । अनि यो त्यही मैदान हो, जहाँ उनले आफ्नो खेल जीवन सुरु गरेको थियो भन्दा हुन्छ ।
त्यही सन् २०११ को विश्वकपका लागि यो रंगशालाको पुर्ननिर्माण पनि गरिएको थियो । अहिले यो मुम्बई इन्डियन्सको घरेलु मैदान हो, त्यसैले यहाँ इन्डियन प्रिमियर लिग (आईपीएल) का पनि धेरै खेल भएका छन् । यस क्रममा अधिकांस समय रंगशाला भरिभराउ भएको पाइन्छ । यति धेरै इतिहास बोकेको रंगशालामै नेपालले साँच्चै अबको ट्वान्टी ट्वान्टी विश्वकप खेल्दैछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]