
भू–राजनीतिको प्रभाव खेलमा पर्नु हुन्न भनिन्छ, तर यस्तो प्रायः हुन्न । भारत र श्रीलंकामा अर्को सातादेखि ट्वान्टी ट्वान्टी विश्वकप सुरु हुँदैछ, यसको चर्चा खेलको भन्दा पनि राजनीतिक कारणले भइरहेको छ । एउटा तथ्य निश्चित भइसकेको छ, बंगलादेशले यो विश्वकप खेल्ने छैन्, आईसीसीले उसको ठाउँमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरिसकेको छ । संयोगले बंगलादेशले नखेल्ने र स्कटल्यान्डले खेल्न पाएको समूह त्यही हो, जसमा नेपाल पनि छ ।
बंगलादेशले सुरक्षाको कारण देखाएर भारत जान अस्विकार गरेको छ । बंगलादेशको चाहना थियो, उसका खेल श्रीलंकामा होस । तर आईसीसीले त्यसलाई मानेन् । पछिल्लो समय भारत र बंगलादेशबीचको सम्बन्ध राम्रो रहेको छैन् र यसको सिधा सिधा असर क्रिकेटमा परिरहेको छ । यी दुई छिमेकी देशबीचको सम्बन्ध पछिल्लो समय पानी बाराबारकै स्थितिमा पुगेको छ । अब नयाँ घटना, पाकिस्तानले पनि यो विश्वकप बहिस्कार गर्ने धम्की दिइरहेको छ ।
पाकिस्तानले साँच्चै के गर्नेछ, त्यसबारे ठोस निर्णय अबको केही दिनमा आउने नै छ, सम्भवतः यही साता । पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्भी अहिले आफ्नो सरकारसँग यसबारे कुराकानी गर्ने क्रममा रहेको बताइएको छ । पाकिस्तानको तर्क हो, बंगलादेशमाथि अन्याय भएको छ, त्यसकै विरोधमा उसले पनि विश्वकप खेल्ने छैन् । तर पाकिस्तानी मिडियालाई आधार मान्ने हो भने यो
बहिस्कार पूरा विश्वकपको हुने छैन् ।
बरु भारतविरुद्ध तय लिग चरणको खेल मात्र बहिस्कार गर्ने निर्णय हुन सक्नेछ । बंगलादेश र पाकिस्तान आफैमा कुनै समय एक आपसमा विरोधी देश हुन् । तर पछिल्लो समय दुई देशबीच सम्बन्ध नजिकिएको छ र यसैक्रममा उनीहरू भारतको विरोध गर्नका लागि एक हुन थालेका छन् । यसबीच एउटा तथ्य के पनि निश्चित छ भने यही राजनीतिक समीकरणले गर्दा अबको विश्व क्रिकेट विथोलिरहनेछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]