यूएई ट्वान्टी ट्वान्टी विश्वकप २०२६ का लागि बिहीबार छनोट भएको छ । एसिया र इस्ट एसिया प्यासिफिको छनोटको सुपर सिक्समा जापानलाई आठ विकेटले पराजित गरेपछि यूएईले यो उपलब्धी चुमेको हो । ओमानमा भएको खेलमा जापानले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय १६ रन बनाएको थियो ।
जवाफमा यूएईले १२.१ ओभरमा दुई विकेट मात्र गुमाएर १ सय १८ रन बनाएको थियो । यो जितपछि यूएईको छ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ । अहिलेसम्म अपराजित नेपाल आठ अंकमा शीर्षमा छ । छ अंकमै रहेको ओमान तेस्रो स्थानमा झरेको छ ।
यससँगै विश्वकप खेल्ने सबै २० टिमको निश्चित भएको छ । त्यसमा भारत र श्रीलंका आयोजक देशका रूपमा छनोट भएका छन् । यी दुई आयोजक देश बाहेक पछिल्लो विश्वकपमा शीर्ष सातमा रहेका टिमले पनि प्रतियोगितामा स्वतः प्रवेश पाएका छन् । ती हुन्, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज ।
आईसीसी वरीयतामा अगाडि रहेका आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि अबको विश्वकप खेल्नेछन् । त्यस बाहेक अमेरिकाबाट क्यानाडा तथा युरोपबाट इटाली र नेदरल्यान्ड्स छनोट भए । यस्तै अफ्रिकाबाट नामिबिया र जिम्बावे छनोट भएका छन् ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]