Share on:

बङ्गलादेशसँग पराजित हुँदै नेपाल बाहिरियो
February 4th, 2026

काठमाडौं। पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट नेपाल लिग चरणबाटै बाहिरिएको छ।


पोखरा रङ्गशालामा बुधबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपालको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। बङ्गलादेशले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गर्दै स्पष्ट जित निकाल्यो।


बङ्गलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याट्रिक गरिन्। खेलको तेस्रो मिनेटमै प्रोतिमा मुण्डाले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अख्तरले गोल गर्दै अग्रता दोब्बर पारिन्। दोस्रो हाफमा उनले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्।


बुधबार नै सम्पन्न पहिलो खेलमा भारतले भुटानलाई ८–० गोलले पराजित गरेको थियो। दुई जित र एक हारसहित ६ अङ्क जोडेको भारत फाइनलमा प्रवेश गरेको छ। लिग चरणका शीर्ष दुई टोली भारत र बङ्गलादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।


प्रतियोगितामा नेपालले दुई हार र एक खेलमा जित निकाल्दै तीन अङ्कमा सीमित रहँदा भुटानले भने कुनै पनि अङ्क जोड्न सकेन।


Swadesh Maharjan | February 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya