
काठमाडौं । पाँच पटकको च्यामिपयन ब्राजिलले आसन्न विश्वकपको समूह ‘सी’ मा अफ्रिकी महारथी मोरक्कोसँगै स्कटल्यान्ड र हाइटीको सामना गर्नेछ । समूहका स्कटल्यान्ड र हाइटी लामो समयको अनुपस्थितीपछि विश्वकपमा फर्किएका हुन् ।
यो समूहका सबै खेल अमेरिकामा हुनेछन् । ब्राजिलले न्युयोर्क, फिलाडेल्फिया र मायमीमा खेल्नेछ । स्कटल्यान्डले हाइटी र मोरक्कोविरुद्धका दुई खेल बोस्टनमा खेल्नेछ । यसैगरी हाइटी र मोरक्कोबीचको अर्को खेल एट्लान्टामा हुनेछ ।
ब्राजिल
विश्वकपको इतिहासमा सबभन्दा सफल देश ब्राजिलले पछिल्लो पटक सन् २००२ मा उपाधि जितेको थियो । त्यसयता सन् २०१४ मा आफैले आयोजना गर्दा बाहेक ब्राजिल प्रत्येक संस्करणमा क्वार्टरफाइनलमा पराजित हुँदै बाहिरिएको इतिहास छ । आफैले आयोजना गर्दा सन् २०१४ मा चाँही सेमिफाइनल पुगेको टोली अन्तिम चारको खेलमा जर्मनीसँग ७–१ को लज्जाजनक हारको सिकार भएको थियो ।
चार वर्षअघि कतारमा क्रोएसियाले पेनाल्टी सुटआउटमा पराजित गर्दै ब्राजिललाई घर फर्काएको थियो ।
यसपाली ब्राजिलको टिम रियाल मड्रिडका भिनिसियस जुनियर र राफिन्हामाथि बढि निर्भर हुनेछ । घुँडाको चोटका कारण रियालका फरवार्ड रोडरिगो भने विश्वकप टिममा छैनन् ।
विश्वकप छनोटमा यसपाली ब्राजिलको टिमबाट अपेक्षित प्रदर्शन हुन सकेको थिएन । निराशाजनक छनोट यात्रामा ब्राजिलले चिर प्रतिद्धन्द्धी अर्जेन्टिनासँग पनि निक्कै पीडादायी हार भोग्नुपरेको थियो ।
छनोट चरणको निराशाजनक नतिजाका कारण ब्राजिली फुटबल संघले रियाल मड्रिडबाट भेट्रान प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई नियुक्त गरेको थियो । एन्सेलोट्टीले अन्तिममा ब्राजिललाई जसोतसो सोझै छनोट सम्म गराएका थिए । ब्राजिल दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहँदै उत्तर अमेरिका भ्रमणको लायक भएको थियो ।
एन्सेलोट्टीले क्लब फुटबलमा पाँच पटक प्रतिष्ठिट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् । तर विश्वकपमा चाँही उनको अनुभव नै एकदम निम्छरो छ । विश्वकपमा यसअघि उनी संलग्न भएको भनेकै सन् १९९४ विश्वकपमा इटालियन टिममा मुख्य प्रशिक्षक एरिगो साचीको सहायकका रुपमा काम गर्नुमात्र हो । अमेरिकामै भएको त्यो विश्वकपमा इटाली फाइनल पुगेको थियो । फाइनलमा ब्राजिलसँग पराजित भएपछि टोली उपाधिबाट विमूख भएको थियो ।
टिम ब्राजिल
गोलकिपरः एलिसन (लिभरपुल), इडर्सन (फेनेरबाचे), वेभेर्टन (ग्रेमियो)
रक्षकः मार्किन्होस (पेरिस सेन्ट जर्मेन), ग्याब्रिअल (आर्सनल), ब्रेमेर (युभेन्टस), इबानेज (अल आहली), लियो पेरेइरा (फ्लेमिङ्गो), वेस्ले (एएस रोमा), ड्यानिलो (फ्लेमिङ्गो), एलेक्स सान्ड्रो (फ्लेमिङ्गो), डग्लस सान्टोस (जेनिट सेन्ट पिट्सबर्ग)
मिड्फिल्डरः कासेमिरो (म्यानचेस्टर युनाइटेड), ब्रुनो गुइमारेस (न्युक्यासल), फाबिन्हो (अल इत्तिहाद, ड्यानिलो (बोटाफोगो), लुकास पाक्वेटा (फ्लेमिङ्गो)
फरवार्डः भिनिसियर जुनियर (रियाल मड्रिड), राफिन्हा (बार्सिलोना), म्याथुज चुन्हा (म्यानचेस्टर युनाइटेड), लुइस हेनरिक (जेनिट सेन्ट पिट्सबर्ग), इगोर थियागो (ब्रेन्टफोर्ड), इन्ड्रिक (रियाल मड्रिड), ग्याब्रिअल मार्टिनेली (आर्सनल), रायान (बर्नमाउथ), नेयमार (सान्टोस)
प्रशिक्षकः कार्लो एन्सेलोट्टी
मोरक्को
चार वर्षअघि कतारमा मोरक्को विश्वकपको अन्तिम चारसम्म पुगेको थियो । जुन विश्वकपको अहिलेसम्मको इतिहासमा कुनै पनि अफ्रिकी टिमको उत्कृष्ट नतिजा हो ।
अन्तिम १६ मा स्पेनलाई हराएको मोरक्कोले क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई निराश पारेको थियो । सेमिफाइनलमा चाँही टोली फ्रान्ससँग पराजित भयो ।
अहिले मोरक्कोको फुटबल अन्तर्राष्ट्रिय जगतमा चर्चाको विषय बनिरहेको छ । मोरक्कोले गएको डिसेम्बर र जनवरीमा आयोजना गरेको अफ्रिका कप अफ नेशन्सको विवादले पूरा विश्व फुटबलका नियमनकारी निकायहरुलाई नीतिगत रुपमा मज्जासँग हल्लाएको थियो ।
आफैले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मोरक्को सेनेगलसँग पराजित भएको थियो । तर फाइनलमा रेफ्रीको अनुमतीविना खेलाडीहरुले मैदान छोडेको विषयमा अनुशासनको कार्वाही गर्ने क्रममा पनि अफ्रिकी फुटबल महासंघल फाइनलको नतिजा उल्टाउँदा मोरक्कोले अफ्रिकी च्याम्पियनको हैसियत प्राप्त गर्यो ।
प्रशिक्षक वालिद रेग्रागुईले अफ्रिका कप अफ नेशन्सको फाइनलपछि टिमबाट राजीनामा दिइसकेका छन् । जसका कारण अव विश्वकपमा नयाँ प्रशिक्षकले मोरक्कोको नेतृत्व गर्नेछन् । र, ती नयाँ प्रशिक्षक मोरक्कोको यु–२० टिमलाई युवा विश्वकपको उपाधि जिताउने मोहमेद ओनाबी हुन् ।
मोरक्कोले चार वर्षपछि स्पेन र पोर्चुगलसँग मिलेर विश्वकपको अर्को संस्करण आयोजना गर्दैछ ।
टिम मोरक्को
गोलकिपरः यासिन बौनोउ (अल हिलाल), मुनिर मोहमेदी (आरएस बेर्काने), अहमद ताग्नाउटी (रोयल आर्मड फोर्सस)
रक्षकः नौसाइर माज्राउवी (म्यानचेस्टर युनाइटेड), एनास सालाह इडिन (पिएसभी आइन्डहोभन), युसुफ बेलाम्मारी (अल आहली), नायेफ एगुर्ड (मार्से), चाडी रियाद (क्रिस्टल प्यालेस), इसा डियोप (फुलह्याम), रेडौने हलहाल (केभी मेचेलेन), अच्रफ हकिमी (पिएसभी आइन्डहोभन), जाकारिया अल उवादी (जेन्क)
मिड्फिल्डरः समिर अल मौराबेट (स्ट्रासबर्ग), अयुब बौआदी (लिल), नेइल अल अैनाउवी (एएस रोमा), सोफ्यान अम्राबाट (रियाल बेटिस), एजेडिने औनाही (जिरोना), बिलाल अल खान्नौस (स्टुटगार्ट), इस्माइल साइबारी (पिएसभी आइन्डहोभन)
फरवार्डः एब्डेसामद इजाल्जौली (रियाल बेटिस), चेम्सडाइन ताल्बी (सन्डरल्यानड), सौफिने राहिमी (अल अइन), अयुब अल काबी (ओलम्पियाकोस), ब्राहिम डियाज (रियाल मड्रिड), यासिन गेस्सिम (स्ट्रासबर्ग), अयुब अमाइमौनी इचघौयाबे (इन्ट्रयाक्ट फ्रयांकफर्ट)
प्रशिक्षकः मोहमेद उहाबी
हाइटी
क्यारेबियन देश हाइटीको लागि यो सन् १९७४ यताको पहिलो र समग्रमा दोस्रो विश्वकप सहभागिता हो । टोली कन्काकाफ छनोटमा आफ्नो समूहको विजेता भएर विश्वकपका लागि छानिएको हो ।
सन् १९७४ मा इटाली, पोल्यान्ड र अर्जेन्टिनासँग लगातार तीन खेलमा पराजित भएपछि हाइटी चाँडै घर फर्किएको थियो । यसपाली पनि टोलीले समूहमा संघर्ष गर्नुपर्नेछ ।
फ्रान्सेली प्रशिक्षक सेवास्टिन मिग्नेको नेतृत्वमा रहेको हाइटी फिफा विश्व वरियतामा हाल ८३औं स्थानमा छ । विश्वकपमा सहभागिता जनाउने तयारीमा रहेका ४८ देशमध्ये हाइटीको वरियता न्युजिल्यान्डभन्दा मात्र माथि हो ।
हाइटीको टोलीलाई मैदानभित्र ३२ वर्षे स्ट्राइकर डङ्कन नाजोनले कप्तानको रुपमा नेतृत्व गर्नेछन् । ६ गोलका साथ उनी कन्काकाफ छनोट प्रतियोगिताको संयुक्त उच्च गोलकर्ता हुन् । जहाँ कोस्टा रिकासँग ३–३ को बराबरी नतिजा निस्किएको खेलमा बेन्चबाट मैदान छिरेर उनले गरेको ह्याट्रिक पनि समावेश छ ।
टिम हाइटी
गोलकिपरः जोनी प्लासिडे (बास्टिया), एलेक्जेन्ड्रे पिएरे (सोचाउक्स), जोसुइ डुर्भर्गर (एफसी कस्मस बोब्लेन्ज)
रक्षकः चार्लेन्स आर्कुस (एन्जर्स), विल्गुन्स पाउगुइन (जुल्टे वारेजेम), ड्युक लाक्रोइक्स (कोलोराडो स्प्रिङ्गस), मार्टिन एक्सपिरियन्स (नान्सी), जिन केभिन डुभेर्ने (जेन्ट) रिकार्डो एडे (एलडियु क्विटो), हानेस डेल्क्रोइक्स (लुगानो), केटो थेर्मोन्सी (योङ ब्वाइज)
मिड्फिल्डरः लेर्भेटन पिएरे (भिजेला), कार्ल फ्रेड साइन्थे (अल पासो लोकोमोटिभ), जिन ज्याक्स डान्ले (फिलाडेल्फिया युनियन), जिन रिक्नर बेलेगार्डे (उल्भस), पिरे उडेन्स्की (भियोलेटे), डोमिनिक सिमोन (टाट्रान प्रेसोभ)
फरवार्डः लौसियस डीड्सन (डालास), रुबेन प्रोभिडेन्स (अल्मेरे सिटी), जोसुइ कासिमिर (औजेरे), डेरिक इटिनी (टोरोन्टो), विल्सन इसिडर (सन्डरल्यान्ड), डकेन्स नाजोन (इस्टेघलाल), फ्रान्ट्डी पिरोट (चेकुर रिजेस्पोर) यासिन फर्चुने (भिजेला), लेनी जोसेफ (फेरेनक्भारोस)
प्रशिक्षकः सेवास्टिन मिग्ने
स्कटल्यान्ड
गतवर्ष युरोपेली छनोटको अन्तिम खेलको अन्तिम समयमा विजयी गोल गर्दै डेनमार्कलाई हराएपछि स्कटल्यान्ड सन् १९९८ यता पहिलो पटक विश्वकपका लागि लायक भएको थियो ।
डेनमार्कमाथि ४–२ को नाटकीय जित हासिल गर्दा एक गोल गरेका स्कट म्याकटोमिनेले कप्तानको रुपमा स्कटल्यान्डको नेतृत्व गर्नेछन् । त्यही जितले विश्वकपमा स्कटल्यान्डको पुनरागमनको कथा रचेको थियो ।
स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्क सन् २०१९ देखि निरन्तर टिमसँगै छन् । विश्वकप सुरु भएसँगै उनी स्कटल्यान्डको टिमलाई लगातार तीन ठूला प्रतियोगितामा नेतृत्व गर्ने पहिलो प्रशिक्षक बन्दैछन् । क्लार्कले स्कटल्यान्डलाई युरोपियन च्याम्पियनसिपको २०२० र २०२४ को संस्करणमा पनि नेतृत्व गरेका थिए । दुवै संस्करणमा स्कटल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो ।
विगतमा आठ पटक विश्वकपमा सहभागिता जनाए पनि स्कटल्यान्ड कहिल्यै समूह चरणभन्दा अगाडि बढ्न सकेको छैन । सन् १९९८ मा पछिल्लो पटक विश्वकपमा सहभागी हुँदा टोलीले ब्राजिलसँग पनि खेलेको थियो । जहाँ स्कटल्यान्ड २–१ को साँघुरो अन्तरमा पराजित भएको थियो ।
टिम स्कटल्यान्ड
गोलकिपरः क्राएग जोर्डन (हार्टस), एन्जस गन (नटिङघम फरेस्ट), लियाम केली (रेन्जर्स)
रक्षकः ग्रान्ट हान्ले (हिबेर्नियान), ज्याक हेन्ड्री (अल इत्तिफाक), आरोन हिकी (ब्रेन्टफोर्ड), डम ह्याम (रेक्सह्याम), स्कट म्याककेना (डिनामो जागरेब), नाथान पाटरसन (एभर्टन), एन्थोनी राल्स्टन (सेल्टिक), एण्डी रोबर्टसन (लिभरपुल), जोन सौटार (रेन्जर्स), किरान टिर्ने (सेल्टिक)
मिड्फिल्डरः रायन क्रिस्टी (बर्नमाउथ), फिन्ड्ले कर्टिस (रेन्जर्स), लेविस फर्गुसन (एस्टन भिल्ला), बेन गानन डोआक (बर्नमाउथ), टेलर फ्लेचर (म्यानचेस्टर युनाइटेड), जोन म्याकजिन (एस्टन भिल्ला), केनी म्याकलिन (नर्विच), स्कट म्याक टमिने (नेपोली)
फरवार्डः चे एडम्स (टोरिनो), लेन्डन डाइक्स (चाल्टर्न), जर्ज हिस्र्ट (इप्सविच), लरेन्स सांकल्यान्ड (रेन्जर्स), रस स्टेवार्ट (साउथह्याम्पटन)
प्रशिक्षकः स्टिभ क्लार्क
समूह ‘सी’ खेलतालिका (नेपाली समयअनुसार)
– ब्राजिल विरुद्ध मोरक्को, १४ जुन, बिहान ०३ः४५ बजे, मेट्लाइफ रंगशाला (न्यु जर्सी)
– हाइटी विरुद्ध स्कटल्यान्ड, १४ जुन, बिहान ०६ः४५ बजे, जिलेट रंगशाला (बोस्टन)
– स्कटल्यान्ड विरुद्ध मोरक्को, २० जुन, बिहान ०३ः४५ बजे, जिलेट रंगशाला (बोस्टन)
– ब्राजिल विरुद्ध हाइटी, २० जुन, बिहान ०६ः४५ बजे, लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया)
– मोरक्को विरुद्ध हाइटी, २५ जुन, बिहान ०३ः४५ बजे, मर्सिडिज बेन्ज रंगशाला (एट्लान्टा)
– स्कटल्यान्ड विरुद्ध ब्राजिल, २५ जुन, बिहान ०३ः४५ बजे, हार्डरक रंगशाला (मायमी)
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]