
काठमाडौँ। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले घुँडाको जटिल शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।
पछिल्ला सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहेकी उनले यसअघि गरिएको एसीएलको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर समस्या देखिएको जानकारी दिएकी छन्। चिकित्सकले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्।
उनका अनुसार अघिल्लो पटक अखिल नेपाल फुटबल संघको पहलमा उपचार व्यवस्थापन भएको थियो। तर यसपटक संघबाट सहयोग नपाएको उनले उल्लेख गरेकी छन्। संघ नेतृत्वले नगद पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने बताएको तर उपचार प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डमै उपचार गराउन तयारी देखाएको भए पनि उनले यसअघि उच्चस्तरीय उपचार गराएको कतारस्थित अस्पतालमै पुनः शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्। बीमा बापत प्राप्त रकम अपुग हुने भएकाले करिब ८० हजार अमेरिकी डलर खर्च अनुमान गरिएको उनले जनाएकी छन्।
विदेशमा रहेकाले सरकारी प्रक्रियाबाट सहयोग जुटाउने प्रयास पनि भएको तर अपेक्षित रूपमा अघि नबढेको उनको भनाइ छ। उनले आफूले सधैं देशका लागि शतप्रतिशत योगदान दिएको स्मरण गर्दै पुनः राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान फर्कने अठोट व्यक्त गरेकी छन्।
उपचारका लागि नेपाल तथा विदेशमा रहेका समर्थकलाई बैंक, क्यूआर तथा अनलाइन माध्यमबाट सहयोग गर्न उनले आग्रह गरेकी छन्।
“थाकेकी छु, हारेकी छैन। फेरि नेपालको जर्सीमा मैदान फर्कनेछु,” उनले भावुक सन्देश दिएकी छन्।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]