Share on:

पीएसजीविरुद्ध टोटनहमलाई गाह्रै हुने अनुमान
August 13th, 2025

आज बुधबार राति यूईएफए सुपर लिगको खेल हुँदैछ, इटालीको युडिनेजीमा । त्यसमा भिड्न लागेका दुई टिम हुन्, पेरिस सेन्ट जर्मन (पीएसजी) र टोटनहम । अपेक्षा त के भने यो खेल रोमाञ्चक र सनसनीपूर्ण होस, तर अनुमान के छ भने सायद पीएसजीविरुद्ध टोटनहमलाई गाह्रै हुनेछ ।


पीएसजी युरोपेली च्याम्पियन्स लिग विजेताका रूपमा यो खेल खेल्दैछ । क्लब इतिहासमै पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने उसको प्रदर्शन शानदार रह्यो । फाइनलमा पीएसजीले इन्टर मिलानलाई सजिलै ५–० ले हराएको थियो, यसले नै अनुमान गर्न सकिन्छ, यो टिम कति बलियो छ भनेर ।


फ्रान्सको घरेलु लिग र कपमै पनि पीएसजीको दादागिरी चल्छ । दसौं वर्ष भयो, पीएसजीले फ्रान्सेली लिग वान र कपमा एकछत्र राज गर्न थालेको पनि । प्रशिक्षकको रूपमा लुइस एनरिके आएयता पीएसजीको खेल रणनीति र प्रस्तुत हुने शैली दुवै फेरिएको छ । पीएसजी क्लब वर्ल्डकपको उप–विजेता पनि हो ।


अर्कोतर्फ टोटनहमले पनि युरोपा लिग विजेताका रूपमा यो खेल खेल्दैछ । तर उसको प्रदर्शन आफैमा राम्रो हुन सकेको छैन् । युरोपा लिगको फाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । तर घरेलु प्रिमियर लिगमा टोटनहमको प्रदर्शन सर्वथा बिर्सनलायक थियो ।


रेलिगेसन क्षेत्रको ठीक अगाडि मात्रै टोटनहमले लिग अभियान टुंग्याएको थियो । युरोपा लिगको उपाधि जिते पनि प्रशिक्षक एन्गे पोस्टेकोग्लु वर्खास्तीमा परे । अहिले उनको ठाउँ थोमस फ्रान्कले लिएका छन् । उनी अहिले टिम बनाउनै ब्यस्त छन् । त्यसैले तय छ, पीएसजीको जित सम्भावना धेरै छ ।


Swadesh Maharjan | August 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya