
काठमाडौं। म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग अन्तर्गतको खेलमा टोटेनह्याम हट्सपुरलाई २–० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले दुवै हाफमा एक–एक गोल गर्दै महत्त्वपूर्ण जित हात पारेको हो।
खेलको ३८औँ मिनेटमा ब्रायन म्बेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। कर्नरबाट आएको बललाई कोब्बी माइनूले पास गरेपछि म्बेउमोले नजिकबाट गोल गरे। २९औँ मिनेटमै टोटेनह्यामका क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि पाहुना टोली दबाबमा परेको थियो।
दोस्रो हाफमा युनाइटेडले निरन्तर आक्रमण जारी राख्दै खेल नियन्त्रणमा राख्यो। त्यसको फलस्वरूप ८१औँ मिनेटमा ब्रुनो फर्नान्डेसले डियोगो डालोटको क्रसमा गोल गर्दै जित सुनिश्चित गरे।
हारका बाबजुद टोटेनह्यामका गोलरक्षक गुग्लिएल्मो भिकारियोले उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै प्रहार बचाए। यस जितसँगै युनाइटेड २५ खेलबाट ४४ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। युनाइटेडले पछिल्ला चार खेलमा लगातार जित निकाल्दै उत्कृष्ट लय कायम राखेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]