काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु अवैध रुपमा प्रसारण तथा स्ट्रिमिङ हुन नदिन सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले बिहीबार पत्र जारी गर्दै नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोर्टस र डिसहोम डिजिटल प्रा.लि. अन्तर्गतको डीगो ब्रोडकास्टिङ कन्सोर्टियमले प्राप्त गरेको उल्लेख गरेको छ । यसबीच प्राधिकरणले पाइरेटेड तथा अनधिकृत वेबसाइट र एपमार्फत खेलहरु निः शुल्क स्ट्रिमिङ गर्ने प्रयास भइरहेको जानकारी दिएको छ ।
पत्रमा सेवा प्रदायकहरुलाई विश्वकपका खेलहरु अनधिकृत रुपमा स्ट्रिमिङ हुन नदिने व्यवस्था मिलाउन तथा आवश्क निग्रानी गर्न आग्रह गरेको छ ।
प्राधिकरणले पत्रमा ३५ वटा वेबसाइट तथा प्लेटफर्मको सूचीसमेत सार्वजनिक गर्दै ती माध्यमबाट अवैध प्रसारण हुन सक्ने जनाएको छ ।
नेपालमा यसपालीको विश्वकप हिमालय स्पोट्र्स च्यानलबाट प्रसारण हुनेछ भने डिजिटलतर्फ डीगो एपमार्फत खेलहरूको स्ट्रिमिङ हुने छ ।
फिफाले नेपालका लागि एक्सक्लुसिभ अधिकार दिएका कारण विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र प्रसारण गर्न पाउने छैनन् । नेपाली दर्शकहरूले तोकिएको शुल्क भुक्तानी गरेपछि विश्वकपका सबै १०४ खेल हेर्न पाउनेछन् ।
टिभी प्याकेजका लागि करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ । मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ ।
कसरी बन्ने ग्राहक ?
ग्राहकले घरमै बसेर टिभी, मोबाइल वा ल्यापटपमा विश्वकपको रोमाञ्चक अनुभव लिन चाहँदा टेलिभिजनमा हेर्न डिजिटल टिभी (केबल, डीटिएच वा आइपिटिभी) प्रयोग गर्नेले टिभी स्क्रिनको क्युआर कोडमार्फत सब्स्क्राइब गर्न सक्नेछन् ।
त्यसका लागि टेलिभिजन खोलिसकेपछि च्यानल लिस्टमा गएर स्पोट्र्स सूचिभित्र हिमालय स्पोट्र्स एचडी च्यानल खोल्नुपर्नेछ ।
च्यानल खोलेपछि टेलिभिजन स्क्रिनमा देखिने क्युआर कोडलाई मोबाइल वालेटमार्फत स्क्यान गरी तुरुन्तै रकम भुक्तानी गर्न
सकिनेछ ।
डिजिटल वालेट एपमार्फत पनि सब्स्क्राइब गर्न सकिने जनाइएको छ । त्यसका लागि ग्राहकले सिधै आफ्नो मोबाइलमा रहेको इसेवा वा खल्ती एप खोलेर इन्टरनेट वा टेलिभिजनको नियमित बिल तिरेजसरी टिभी सर्भिस प्रोभाइडर छानेर आफ्नो युजर आइडी हाल्नुपर्छ । त्यसपछि फिफा विश्वकप टिभी प्याकेज चयन गरि ९९९ भुक्तानी गर्नुपर्नेछ । भुक्तानी सफल भएपछि सब्स्क्रिप्सन सफल हुनेछ ।
फिफा विश्वकप टिभी प्याकेज प्रयोग गर्नका लागि तपाईंको डिजिटल टिभीको नियमित सब्स्क्रिप्सन सक्रिय हुन आवश्यक छ। टिभीको नियमित म्याद सकिएको वा निष्क्रिय भएको अवस्थामा विश्वकप प्याकेज मात्र खरिद गरेर सेवा सञ्चालन हुने छैन।
मोबाइल वा ल्यापटपमा हेर्नका लागि आफ्नो डिभाइसमा डिगो एप डाउनलोड गरी रजिस्टर वा लगइन गर्नुपर्नेछ । अथवा सीधै इसेवा वा खल्ती एपमा गएर एपको होमपेजमा देखिने फिफा विश्वकप आइकन चयन गर्नुपर्नेछ ।
त्यसपछि आफ्नो आवश्यकता अनुसार मोबाइलमा मात्र हेर्नका लागि मोबाइल ओन्ली प्याकेज ५४९ रुपैयाँमा सबै १०४ खेलको मजा लिन सकिनेछ ।
यसैगरि मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि ९९९ को बेग्लै प्याकेज खरिद गर्न सकिन्छ।
पहिलो पटक लगइन तथा अथेन्टिकेट गरेको मोबाइल नम्बर र डिभाइससँग सब्स्क्रिप्सन स्थायी रूपमा जोडिनेछ। सब्स्क्रिप्सन सक्रिय भइसकेपछि अर्को मोबाइलमा सार्न वा डिभाइस परिवर्तन गर्न नमिल्ने भएकोले आफूले हेर्न चाहेकै मोबाइल डिभाइसबाट प्याकेज खरिद गर्न एसप्रो मिडियाले सुझाएको छ ।
त्यस्तै डीगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल-ओन्ली’ पासको अफर पनि ल्याएको छ । उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार दर्शकहरुले डीगो एपमार्फत विश्वकपका सबै १०४ खेल नेपाली वा अंग्रेजी कमेन्ट्री (दुबै)मा प्रत्यक्ष हेर्न सक्नेछन् ।
मोबाइल-ओन्ली पास खरिद गरेपछि प्रयोगकर्ताले १०८० पी (फुल एचडी) गुणस्तरमा खेलहरु प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् । डीगोले एपभित्रै केही क्लिकमा पास सक्रिय गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।