Share on:

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि ११ वडाले जिते
April 6th, 2026

काठमाडौं महानगरपालिका वडा नं ११ ले दोश्रो सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको छ ।


टेवहाल स्थित संकटा मन्दिरको प्राङ्गणमा कामनपा वडा नं. २२ ले आयोजना गरेको सात चरणको दुई दिने प्रतियोगितामा खुल्ला तर्फ दुई, एक महिला र १६ वर्षको गरि चार जना खेलाडी टिमसहित २९ वटा वडाले प्रतिस्पर्धा गरेका थिए ।


च्याम्पियन वडा नं ११ ले सर्वाधिक १३ अंक जोडेर सहज तरिकाले उपाधि जितेका छन्। च्याम्पियन टिमले छ जित र एक बराबरीमा खेलेको थियो । सो टिममा एफएम क्षितिज भण्डारी, विजेश राजकर्णिकार, प्रवीर केसी र राधिका पौडेल (महिला)ले उत्कृष्ट खेल खेलेका थिए ।


पहिलो दिन वडा नं ११ सँगै संयुक्तरुपमा शीर्ष स्थानमा रहेको आयोजक वडा नं. २२ टिम उपविजेता बन्यो । वडा नं २२ ले सातमध्ये पाँचमा जित, एक बराबरी र एक हारको परिणाम आत्मसाथ गरे । 


वडा नं २२ टिमबाट पहिलो बोर्डमा सिएम नवीन तण्डुकार, दोस्रो बोर्डमा प्रकाशचन्द्र नेपाल, तेस्रो बोर्डमा युवा १६ का हार्दिक पन्त र चौथो बोर्डमा महिला खेलाडी पुजा भण्डारीले चुनौती पेश गरेका थिए ।


समान ११ अंक बनाएको वडा नं २३ ले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । पाँच जित, एक बराबरी र एक हारमै खेलेको वडा २३ प्रोग्रेसिभ अंकका आधारमा आयोजक टिमभन्दा पछाडि परेको हो । 


यस्तै वडा नं २८ ले ९ अंक बनाएर चौथो स्थान प्राप्त गरी सान्त्वना पुरस्कार हात पारेका छन् । वडा २३ बाट शैलेन्द्र न्यौपाने, प्रतिश श्रेष्ठ, कविन्द्र शिवाकोटी र सुशीला गुरुङ तथा वडा २८ बाट सागर शाही, हर्षवर्धन राठी, सजल न्यौपाने र एञ्जल महर्जनले प्रतिस्पर्धा गरेका हुन् । 


विजेता वडा ११ ले ट्रफीसहित नगद ६० हजार, उपविजेता वडा २२ ले ४० हजार, तेस्रो हुने वडा २३ ले ३० हजार तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने वडा २८ ले २० हजार रुपियाँ पुरस्कार हात पारेका छन् । 


यसैगरी प्रत्येक बोर्डका ब्यक्तिगत विधातर्फ क्रमशः एफएम क्षितिज भण्डारी, प्रकाशचन्द्र नेपाल, युवा १६ वर्षका खेलाडी प्रवीर केसी र महिला खेलाडी नेलिशा ओझाले सर्वोकृष्ट बन्दै जनही नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । १७ सय रेटिङ मुनिको विधामा वडा नं. २० टिम उत्कृष्ट भए ।


नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा, काठमाडौँ जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोग रहेको स्विस लिग प्रणाली टिम खेलमा नगद २ लाख पुरस्कार प्रदान गरिएको थियो । 


समापन कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २२ का खेल प्रेमि अध्यक्ष चिनीकाजी महर्जनले नेपाल बुद्धिचाल महासंघलाई प्रवक्ता राजु ताम्राकार, केन्द्रीय सदस्य रमिला पोखरेल र शुशीला गुरुङ मार्फत धन्यवाद पत्र हस्तान्तरण गरेका छन्।


संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरको प्रमुख आतिथ्यता रहेको पुरस्कार वितरण समारोहमा जनप्रतिनिधि उदय चुडामणि बज्राचार्य, अनिल हाडा, चन्द्रमान तुलाधर, ललिता खड्गी, तेज शाक्य, अर्बिन्द्रमान सिं, वरिष्ठ पत्रकार प्रजित शाक्य, केशब श्रेष्ठ, प्रमुख निर्णायक एफए सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।


Swadesh Maharjan | April 6th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya