काठमाडौँ, जेठ २९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहिबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
सातदोबाटोस्थ्ति एन्फा मुख्यालयमा भएको कार्यक्रममा अध्यक्ष पंकज नेम्वाङलगायतको एन्फाको टिमले एनएसजेएफका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पत्र र खादा ओढाएर बधाई तथा शुभकामना दिनुभयो ।
एन्फाका अध्यक्ष नेम्वाङले पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको दशौँ स्मृति दिवसमा यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ललित दाई हुँदाको समयमा एन्फा र नेपाल खेलकुद पत्रकार मञ्चबिच सुनौलो सम्बन्ध थियो, त्यसैले यी दुई संस्थाबिच त्यत्तिकै सुनौलो, सुमुधर सम्बन्ध बनाउनुपर्छ भन्ने सोचाईसहित आजको दिन यो कार्यक्रम राखिएको हो । अध्यक्ष नेम्वाङले नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना भएपछि नेपाल फुटबलको विकासको क्रम ठूलो टेवा पुगेको र यी दुई संस्था मिलेर अझ धेरै राम्रो काम गर्न बाँकी छ, भन्नुभयो ।
एन्फाका पूर्व कार्यवाहक अध्यक्ष तथा थ्रीस्टार क्लबका पूर्व अध्यक्ष श्रेष्ठको बिहिबार दशौँ स्मृति दिवस हो । एन्फा मुख्यालयमा बिहिबार बिहान नै श्रेष्ठको दशौँ स्मृत दिवसमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारीले मञ्चले नेपाल फुटबलको हरेक राम्रो पक्षमा होस्टेमा हैँस्ते गरिरहेको र एन्फाले केही गलत गरेको छ भने रचनात्मक आलोचना गर्न पनि नछोडेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो– ‘फुटबल अहिले उद्योग भइसकेको छ, यो खेलभन्दा धेरै माथि पुगिसकेको छ । यो फुटबल उद्योगको विकासका लागि एन्फासँग सहकार्य गर्न सकिन्छ, त्यसका लागि मञ्च तयार छ ।’ यसैगरी अध्यक्ष अधिकारीले खेल अध्ययन र अनुसन्धानको पक्षमा काम गर्ने एनएसजेफ एकेडेमीसँग मिलेर एन्फाले काम गर्न सकेमा पनि नेपाली फुटबललाई राम्रो हुनेछ, भन्नुभयो ।
यसैगरी एन्फा महासचिव किरण राइले महिला फुटबलले लगातार राम्रो गरेपछि नेपालका प्रत्येक अभिभावकले आप्mना छोरीहरुले प्रिति राई र सावित्रा भण्डारीले जस्तो खेलोस् भन्ने सपना देख्न थालेको र यही कारणले अहिले देशमा हजारौको सङ्ख्यामा महिलाहरु फुटबलमा होमिएको बताउनुभयो । उहाँले यसैलाई उदाहरण दिँदै फुटबलले महिला सशक्तिकरणमा निकै ठूलो छलाङ मारेको धारणा राख्नुभयो ।
यसैगरी एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले नेपालमा रहेका खेलकुद संघमध्ये एन्फामा खेल पत्रकारहरुको अझ बढी लगाव र चासो हुने भनाई राख्नुभयो । उहाँले फुटबल नेपालको नम्बर एक खेल भएकोले खेल पत्रकारहरुको त्यो फुटबल प्रतिको चासो हो भनी प्रस्ट्याउनुभयो ।
एन्फा उपाध्यक्ष दिपक खतिवडाले खेल पत्रकारविना नेपाली खेलकुद अगाडि बढ्न नसक्ने र खेल पत्रकारहरुले फुटबललाई अझ बढी माया गरेको आफूले महसुस गरेको बताउनुभयो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]