Share on:

एनकेएल दोस्रो सिजन जेठमा हुने
February 16th, 2026

काठमाडौं । २०८२ साल फागुन ४ गते सोमबार


नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ साल जेठ २२ गते (५ जुन, २०२६) देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । म्यारियट होटलमा सोमबार आयोजित कार्यक्रममार्फत् एनकेएल आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले दोस्रो संस्करणको मिति घोषणा गरेको हो ।


एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘गत वर्ष पहिलो संस्करण कल्पनाभन्दा पनि राम्रो भयो । यसले नेपाली कबड्डीमा व्यवसायिकताको सुरुआत गरेको छ । अब दोस्रो सिजनलाई त्योभन्दा राम्रो र उत्कृष्ट ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले थपे, ‘दोस्रो सिजनको लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन्, जुन संख्या गत वर्षभन्दा करिब दोब्बर हो र यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको छ ।’


प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्डलगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए । कार्यक्रममा नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, महासचिव अरविन्द कुमार झा, र्यापर भियोमा पनि उपस्थित थिए ।


एस्ट्रोनिक्स म्योनजेमन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडीसँग सम्झौता पनि गरेको छ । सम्झौता पत्रमा एस्ट्रोनिक्सका सीईओ अग्रवाल र कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर (सीएमओ) अनुपम अधिकारीले हस्ताक्षर गरे । सम्झौताअनुसार एनकेएल सिजन २ का खेलहरू कान्तिपुर म्याक्स टीभी एचडीबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।


पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा काठमाडौंमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । एस्ट्रोनिक्स म्योनजेमन्ट कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ ।


Swadesh Maharjan | February 16th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya