
काठमाडौं। विभागीय टोली एपीएफले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई २७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारे पहिले ब्याटिङ थालेको एपीएफका लागि आसिफ शेखले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १०५ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक ११४ रन बनाए। कप्तान रोहित पौडेल भने १० बलमा ९ रनमै आउट हुँदा टोलीलाई सुरुवाती दबाब परेको थियो।
त्यसपछि सन्दीप जोरा र आसिफबीच राम्रो साझेदारी बन्यो। जोराले ५३ बलमा ५ चौका र ३ छक्कासहित ५२ रन बनाएर टोलीको इनिङ्स सम्हाले। मध्यक्रममा सुमित महर्जनले १८ रन योगदान गरे भने लोकेश बमले ३६ बलमा २९ रन जोडे।
अन्त्यतिर युवराज खत्री २६ रनमा अविजित रहँदा कमल ऐरी ३ रनमा नटआउट रहे। एपीएफले निर्धारित ५० ओभरमा २७१ रन बनाउँदा ८ विकेट गुमायो।
बलिङतर्फ बागमतीका रिजान ढकालले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ४ विकेट लिए। ईशन पाण्डेले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाले समान १र१ विकेट हात पारे।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]