
काठमाडौं। ओपनर आसिफ शेखको विस्फोटक ब्याटिङमा नेपालले आईसीसी टी–२० विश्वकप अघिको अभ्यास खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा नेपालले १६२ रनको लक्ष्य १८ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा आसिफ शेखले मुख्य भूमिका खेले। उनले मात्र २९ बलमा ५८ रनको आक्रामक पारी खेल्दै नेपाललाई जिततर्फ डोर्याए। आसिफले सन्दीप जोरासँग मिलेर तेस्रो विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरे। जोराले धैर्यतापूर्वक ब्याटिङ गर्दै ३० बलमा ४ चौका र १ छक्का सहित ४४ रन बनाए। आसिफ रिटायर्ड आउट भएका थिए।
यस्तै गुल्सन झाले ३१ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेल १२ रनमा आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका नवनीत धालिवालले सर्वाधिक ४१ रन जोडे। श्रेयस मोव्वा ३८ रनमा अविजित रहँदा कंवरपाल तथगुरले २५ र जसकरण सिंहले २१ रन बनाए। निकोलस किर्टन भने १० रनमै आउट भए।
नेपालका बलरमध्ये सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे।
यो जितसँगै अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित भएको छ। यसअघि नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]