
काठमाडाैं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको १००औँ खेलमा नेपालले युएईलाई २९० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनायाे।
नेपालका ओपनर अर्जुन कुमालले २२ बलमा ११ रन बनाएर आउट भए। कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए भने भिम सार्की भने खाता नै नखोली पभेलियन फर्किए।
नेपालको इनिङ्स सम्हाल्ने क्रममा विकेटकिपर विनोद भण्डारीले ७९ बलमा ५६ रनको महत्वपूर्ण पारी खेले। त्यसपछि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट शतकीय प्रदर्शन गर्दै ९४ बलमा १०० रन बनाए, जसमा १३ चौका र १ छक्का समावेश थियो। उनले टोलीलाई बलियो स्थितिमा पुर्याउन महत्वपूर्ण भूमिका खेले।
मध्यक्रममा गुल्सन झाले ३८ बलमा ४४ रन बनाउँदै आक्रामक ब्याटिङ गरे भने आरिफ शेखले १६ बलमा ११ रन थपे। सोमपाल कामी अन्तिममा अविजित रहे।
बलिङतर्फ युएईका जुनैद सिद्दिकी र अजय कुमारले समान २–२ विकेट लिए। हैदर अली र खुजाइमा तनवीरले १–१ विकेट हात पारे।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]