Share on:

लुम्बिनीको इतिहास बिर्सिने प्रयास
November 20th, 2025

नेपाल प्रिमियर लिग (एनपीएल) मा कुनै एउटा टिमको सबैभन्दा खराव प्रदर्शनको रेकर्ड छ भने त्यो लुमिबनी लायन्सको हो । गत सिजन आठ टिममध्ये लिग चरणको समाप्तीमा सबैभन्दा पुछारमा परेको टिम यही थियो । लिग चरणका सात खेलमध्ये एकै खेलमा मात्र यो विजयी रह्यो, त्यसको अर्थ छ खेलमा यो पराजित रह्यो । अझ लुम्बिनी सुरुआती तीन खेलमा लगातार पराजित रहेको थियो ।


तर प्रतियोगिता सुरु हुन अगाडि यो टिममाथि ठूलो आश भने थियो र यसको कारण थियो, यस टिमका कप्तान रोहित पौडेल । लुम्बिनीको अहिलेसम्मको एक मात्र जित भने चितवन राइनोजविरुद्ध रहेको छ । यही टिम आज बिहीबार सिजन टुको आफ्नो पहिलो खेलमा उत्रिदै छ । उसको पहिलो खेल रहेको छ, संयोगले चितनवविरुद्ध नै । यस्तोमा लुम्बिनीले कम्तीमा यो खेल जित्ने विश्वास राख्न सक्छ ।


तर उसको पूरा ध्यान भने प्रतियोगितामा गत वर्षको तुलनामा राम्रो प्रदर्शन नै रहनेछ । अझ टिमले पुरानो इतिहास आफूले बिर्सने र अरुलाई बिर्साउने प्रयास गर्नेछ, यो नै उसको प्रमुख लक्ष्य हुनेछ । गत सिजन लुम्बिनीको खराव प्रदर्शनको एउटा ठूलै कारण थियो, बलिङमा कमजोरी । त्यो पनि धेरै आश गरेका विदेशी खेलाडीबाट । त्यसैले त यसपल्ट लुम्बिनीले एउटा खास क्षेत्रमा धेरै सुधारको प्रयास गरेको छ भने त्यो बलिङ नै रहेको छ ।


यसैक्रममा उसले गत वर्ष खराव खेल्ने केही खेलाडीलाई रिलिज पनि गरेको छ, रिटेन गर्न चाहेन् । गत सिजन टिमको खराव प्रदर्शनका बावजुत रोहित ब्याटबाट भने चम्के । उनीबाट यसपल्ट पनि यस्तै अपेक्षा हुन् । अनि उपकप्तान सन्दीप जोराबाट पनि उत्तिकै ठूलो अपेक्षा हुनेछ । टिममा शेर मल्ल आएका छन्, त्यसको अर्थ बलिङ क्षेत्र बलियो हुन सक्नेछ । अनि टिममा जति पनि विदेशी खेलाडी छन्, तिनको प्रदर्शन कस्तो हुनेछ, त्यसले पनि लुम्बिनीको यात्रालाई धेरै हदसम्म निर्धारण गर्नेछ ।


Swadesh Maharjan | November 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya