
काठमाडौं। नेपालले मलेसियामाथि पहिलो टी–२० शृङ्खलामा संघर्षपूर्ण जित हासिल गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा घरेलु टोलीलाई नेपालले २ विकेटले पराजित गरेको हो।
मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा सम्झना खड्काले ३९ बलमा २ चौकाको सहयोगमा सर्वाधिक ३२ रनको इनिङ खेलिन्।
रुवी पोदार १५ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाका लागि नुर कवाल्शाले ३ विकेट लिइन् भने अल्सा एलिसा र एल्सा हन्टरले समान २ तथा नुर दानियाले १ विकेट हात पारिन्।
त्यसअघि पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनमा समेटिएको थियो। मलेसियाका लागि एल्सा हन्टरबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने मनिषा उपाध्याय र रिया शर्माले समान २ विकेट हात पारिन्। कविता कुँवर र सीता राना मगरले समान १ विकेट लिए।
जितसँगै दुई खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ।
एसियन गेम्स छनोट तथा एसीसी प्रिमियर कपको तयारीका लागि मलेसिया पुगेको नेपाली टोलीले घरेलु टोलीसँग तयारीस्वरूप दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिरहेको हो। शृङ्खलाको दोस्रो खेल शुक्रबार हुनेछ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]