
काठमाडौं । विश्वकप लिग २ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ ।
युएईमा भएको त्रिकोणात्मक ओडिआई सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा घरेलु टोलीले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको २ सय ४० रनको मध्यम लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
युएईको जितमा मोहम्मद शाहदादले १ सय २३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ९६ रनको अर्धशतकीय इनिङ खेले । मोहम्मद वासिम ७३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ७६ रनको अर्धशतकीय इनिङ खेले । चौथो विकेटका लागि दुवैले १ सय ४० बलमा १ सय ४७ रनको सानदार साझेदारी गरे ।
सोहेब खान ५२ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए । हर्षित कौशिक १३, कप्तान अलिसान सरफु १८ रनमा आउट हुँदा ओपनर आर्यंश शर्माले रनको खाता नै खोल्न सकेनन् ।
नेपालका लागि करण केसीले ३ तथा नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले समान १ विकेट लिए । त्यसअघि युएईमा रहेको आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि भीम सार्कीले ६८ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४८ रन जोडे । पहिलो विकेट ४ रनमै गुमाएर संकटमा परेको नेपालका लागि दोस्रो विकेटका लागि भीम र आसिफले राम्रो साझेदारी दिलाएका थिए ।
भीम र आसिफले ७४ रनको साझेदारी गरेका थिए । आसिफले ४८ बलमा ४ चौकाको सहयोगमा ३४ रन जोडेका थिए । त्यसपछि नेपालले सस्तैमा तीन विकेट गुमायो । पाँचौ विकेटका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४९ रनको साझेदारीले टिमलाई केही स्थिरता दिए ।
उपकप्तान दीपेन्द्र ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३७ रनमा आउट हुँदा आरिफ शेख ५४ बलमा ३० रनमा आउट भए । लगातार विकेट गुमाएर संकटमा पुगेको नेपालका लागि नवौं विकेटका लागि सन्दीप लामिछाने र कुशल मल्लले राम्रो साझेदारी गरे । कुशल ५१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रनमा आउट हुदाँ सन्दीपसँग मिलेर ४२ रनको साझेदारी गरे । सन्दीप १५ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल समान २ तथा करण केसी रनको खाता नै नखोली आउट भए । युएईका लागि जुनैद सिद्धिकी र धुव्र परासरले समान २ तथा मोहम्मद जगदुल्लाह र जाहिद अलिले समान १ विकेट लिए । नेपालका २ ब्याटर रन आउट हुन पुगे ।
जितसँगै ८ राष्ट्र सहभागी लिग टु मा युएईको २० खेलबाट १० अंक भएको छ । जितपछि पनि युएई अंक तालिकाको पुछारमा कायमै छ । पराजित नेपालको समान खेलबाट १२ अंक रहेको छ । हार पश्चात पनि नेपाल पुछारबाट दोस्रो स्थानमा यथावत छ ।
नेपाल युएईमा भएको यस सिरिजमा खेलेका सबै चार खेलमा हारका साथ स्वदेश फर्कदै छ । उता, अमेरिकासँग दुवै खेलमा पराजित युएईले दुवै भेटमा नेपाललाई हराएको छ । सहभागी अर्को मुलुक अमेरिकाले भने शतप्रतिशत जित हासिल गरेको छ ।
लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन् । भने, प्रतियोगिताको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँने छन् । लिग टु को पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँनेछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]