
काठमाडौँ। महिला टी–२० एसियन गेम्स छनाेटअन्तर्गत मलेसियाविरुद्ध नेपालले १२६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायो। नेपालको इनिङ्समा कप्तान इन्दु बर्माले अविजित ४६ रनको उत्कृष्ट योगदान दिइन्। उनले ४१ बलमा ५ चौका प्रहार गरिन्।
कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३३ रन जोडिन्। रुबी पोद्दारले १७, पूजा महतोले १५, सोनी पाख्रिनले ६, सीता राना मगरले ५ तथा सम्झना खड्काले २ रन बनाइन्।
नेपालको सुरुआत भने राम्रो हुन सकेन। टोलीले २७ रन बनाउँदा ३ विकेट गुमाएको थियो। त्यसपछि रुबी पोद्दार र इन्दु बर्माले इनिङ्स सम्हालेका थिए। अन्तिम पाँच ओभरमा नेपालले ५९ रन थपेको थियो।
मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्गमले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन्। माहिराह इज्जाती इस्माइल र आइस्या एलिसाले समान १–१ विकेट हात पारे।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]