
काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा रोमाञ्चक जितसहित सुखद् सुरुआत गरेको छ।
सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो। सिल्हेटले दिएको १९१ रनको लक्ष्य पछ्याएको राजशाहीले अन्तिम २ बल बाँकी रहँदा २ विकेट गुमाएर १९२ रन बनायो। जितसहित राजशाहीले २ अंक जोडेको छ।
राजशाहीका कप्तान नजमुल हसेन शान्तोले शतक पूरा गरे। ६० बल खेलेका उनले १० चौका र ५ छक्कासहित १०१ रन बनाए। उनी अविजित रहे।
मुशफिकुर रहिमले ३१ बलमा ४ चौका र २ छक्कासहित अविजित रहँदै ५१ रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि १३२ रनको साझेदारी बनेको थियो।
साहिबजादा फरहान २० र तान्जिद हसन १० रनमा आउट भए। खालिद अहमद र मेहदी हसन मिराजले समान १ विकेट राखे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९० रन बनाएको थियो।
सिल्हेटका परवेज हुसेन इमनले सर्वाधिक ६५ रन बनाए। ३३ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। रोनी तालुकदारले ३४ बलमा ४ चौकासहित ४१ रनको योगदान दिए।
आफिफ हुसेन ३३, साइम अयुब २८ र हजरतुल्लाह जजाई २० रनमा आउट भए।
नेपालका सन्दीपले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। बिनुरा फर्नान्डो र तन्जिम हसन सकिबले समान १ विकेट लिए।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]