Share on:

पोखरालाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा
November 21st, 2025

काठमाडौं । पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । 


टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले दोस्रो खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउँन सक्यो । 


पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । कुशलले अघिल्लो खेलमा समेत अर्धशतक बनाएका थिए । जिम्मी निशमले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन जोडे । 


डान ड्वाउथवेट १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ३७ रनमा आउट हुनुको अलावा पोखराका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् । किरण ठगुन्ना ९, दिनेश खरेल र सुमित बर्मा समान ६ तथा एडम रोसिङ्टन १ रनमा आउट भए । सुदूरपश्चिमका लागि हर्मित सिंहले २ तथा हेमन्त धामी, स्कट कुगेलेन, अभिनाश बोहोरा, कप्तान दिपेन्द्र तथा नरेन साउदले समान १ विकेट लिए । 


त्यसअघि पोखराले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गरेको थियो ।


सुदूरपश्चिमका लागि ओपनर ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रनमा आउट भए । पहिलो खेलमा रनको खाता नखोल्दै आउट भएका ब्राउनले २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । सुदूरपश्चिमका अर्का विदेशी खेलाडी अस्ट्रेलियाका विस्फोटक ब्याटर क्रिस लिन १३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट भए । 


अघिल्लो खेलमा शुन्य रनमा नै आउट भएका ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोड्दै आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १ चौका र १ छक्काको सहयोगमा १५ रनमा आउट भए ।


अघिल्लो खेलमा सुदूरपश्चिमका लागि विष्फोटक ब्याटिङ गरेका हर्मित सिंह ६ बलमा ४ रनमा आउट भए । स्कट कुगेलेन ८ रनमा आउट हुँदा इशान पाण्डे ६ रनमा नट आउट रहे । सुरुवात राम्रो गरेको सुदूरपश्चिमले पछिल्लो क्रममा भने राम्रो गर्न सकेन । उसले पछिल्लो ५ ओभरमा मात्र ३३ रन बनाउँन सफल भयो । 


पोखराका लागि जिम्मी निशमले ३ तथा डान डाउथवेट र आकाश चन्दले समान २ विकेट लिए । लगातार दुई खेल जितेको सुदूरपश्चिम ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो । लगातार २ खेलमा पराजित पोखरा अंक बिहिन रहँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग पराजित भएको थियो । 


मंसिर २७ सम्म चल्ने दोस्रो संस्करणको लिगमा ८ टोलीको सहभागीता रहेको छ ।


Swadesh Maharjan | November 21st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya