
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको छ।
बुधबार जारी गरिएको आधिकारिक पत्रअनुसार राखेपले खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को प्रावधानअनुसार कारबाही गर्दै एन्फामाथि निलम्बनको निर्णय गरेको हो।
राखेपका अनुसार एन्फाले परिषद्बाट पटक–पटक दिइएका निर्देशनहरू अवज्ञा गरेको, स्वीकृति बिना निर्वाचन प्रक्रिया अघि बढाउन खोजेको तथा माग गरिएका स्पष्टिकरणहरू सन्तोषजनक रूपमा पेश नगरेको पाइएको छ। परिषद्ले कार्यसमितिको निर्णयविपरीत गतिविधि अघि बढाएको निष्कर्षसहित कडा कदम चालिएको जनाएको छ।
पत्रमा उल्लेख भएअनुसार एन्फाले साधारण सभा (अडिटरी कङ्ग्रेस) र निर्वाचनसम्बन्धी प्रक्रिया परिषद्को स्वीकृतिबिना अघि बढाउन खोजेको देखिएको छ। उक्त कार्य प्रचलित कानुनविपरीत रहेको ठहर गर्दै राखेपले तीन महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।


निलम्बन अवधिभर एन्फाले कुनै पनि प्रशासनिक तथा निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्न नपाउने स्पष्ट पारिएको छ। साथै, यस अवधिमा आवश्यक छानबिन तथा थप निर्णय प्रक्रिया अघि बढाइने राखेपले जनाएको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]