
काठमाडौं। सहिद स्मारक महिला लिगअन्तर्गत अत्यन्त रोमाञ्चक खेलमा बागमती युथ क्लब विजयी भएको छ।
ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा बागमतीले आरएस पोखरामाथि ५–४ को संघर्षपूर्ण जित निकाल्यो।
जितसँगै बागमतीले तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
बागमतीको जितमा अस्मिता मगर र दीक्षा रानपालले समान दुई–दुई गोल गर्दा प्रजिता राईले एक गोल थपिन्। आरएस पोखराका लागि गीता श्रेष्ठले दुई गोल गरिन् भने तुलसी कुमारी वली र वर्षा कुँवरले समान एक–एक गोल योगदान दिए।
खेलको सातौं मिनेटमै गीता श्रेष्ठको गोलमार्फत आरएसले अग्रता लिएको थियो। तर, त्यसको दुई मिनेटपछि अस्मिता मगरले गोल फर्काउँदै बागमतीलाई खेलमा फर्काइन्।
दोस्रो हाफ झन् प्रतिस्पर्धात्मक बन्यो। ४८औं मिनेटमा तुलसी कुमारी वलीले गोल गर्दै आरएसलाई पुनः अग्रता दिलाइन्। तर, ५१औं मिनेटमा प्रजिता राईले बराबरी गोल गर्दै खेल २–२ को अवस्थामा ल्याइन्।
६०औं मिनेटमा दीक्षा रानपालले गोल गर्दै बागमतीलाई पहिलोपटक अग्रता दिलाइन् भने ६८औं मिनेटमा वर्षा कुँवरले गोल गर्दै खेल पुनः ३–३ को बराबरीमा पुगेको थियो।
त्यसपछि बागमतीले खेलमा पकड जमायो। ७०औं मिनेटमा अस्मिता मगर र ७८औं मिनेटमा दीक्षा रानपालले गोल गर्दै बागमतीलाई ५–३ को मजबुत अग्रता दिलाए।
८३औं मिनेटमा गीता श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर घटाए पनि बाँकी समयमा आरएस खेलमा फर्किन नसक्दा बागमतीले रोमाञ्चक जित हात पार्न सफल भयो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]