Share on:

चेल्सीका लागि पेड्रोको कमाल
July 9th, 2025

अमेरिकामा चलिरहेको क्लब वर्ल्डकप २०२५ मा दक्षिण अमेरिकी टिमहरूको चुनौती सकिएको छ । तय छ, यसपल्टको ३२ टिममा विस्तारित यो प्रतियोगिता कुनै युरोपेली क्लबले नै जित्नेछ । अहिलेसम्म फाइनल पुग्ने एउटा टिमको टुंगो लागेको छ र त्यो हो, इंग्लिस प्रिमियर लिग क्लब चेल्सी ।

चेल्सीले सेमिफाइनलमा पाखा लगाएको टिम हो, ब्राजिलको फ्लुमिनेज । बुधबार विहान सकिएको अन्तिम चारको खेलमा चेल्सीले फ्लुमिनेजलाई २–० ले हराएको हो । अनि यो ब्राजिली टिमलाई हराउन सबैभन्दा महत्त्वपूर्ण खेलाडी अरू कोही नभएर ब्राजिली नै थिए र उनी हुन्, जाओ पेड्रो ।

फाइनलमा चेल्सीको प्रतिद्वन्द्वी हुनेछ, रियल म्याड्रिड अथवा पेरिस सेन्ट जर्मेन (पीएसजी) । पेड्रो भने चेल्सीका नयाँ खेलाडी हुन्, भर्खर अनुबन्धित भन्दा हुन्छ । उनी अर्को प्रिमियर लिग क्लब ब्राइटन एन्ड होबबाट चेल्सी आएका हुन्, सात करोड ९० लाख डलरमा ।

उनले चेल्सीका लागि पहिलो पटक सुरुदेखि खेल्न पाएको पनि फ्लुमिनेजविरुद्ध नै हो । उनले दुवै गोलमा खुसी मनाउन भने चाहेनन्, किन भने उनले आफ्नो खेल जीवनको सुरुआत गरेको यही क्लबबाट नै हो । यी २३ वर्षीय खेलाडी पाल्मेरियासविरुद्धको क्वाटरफाइनलमै मात्र डेब्यु गरेका थिए ।

त्यसका लागि उनले आफ्नो बिदा नै छोट्याएका थिए । जितमा चेल्सीका प्रशिक्षक एन्जो मारेस्का स्वभाविक रूपमा खुसी रहे । उनले भने, ‘हाम्रो लागि यो सिजन राम्रै रहेको छ । हामी फाइनल पुग्नु पनि ठूलै उपलब्धी हो । विश्वास गरौं, उपाधि पनि हामीले नै जित्ने छौं ।’


Swadesh Maharjan | July 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya