Share on:

‘१० के एनवाईएफएन रन’: राजन रोकायाले जिते उपाधि
May 15th, 2026

काठमाडौं। राष्ट्रिय युवा संघ नेपालको ३७औँ स्थापना दिवसको अवसरमा आयोजित  ‘१० के एनवाईएफएन रन’ शुक्रबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ । 


राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष माहाराज गुरुङको अध्यक्षतामा र ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यमा पार्टी केन्द्रिय कमिटी सचीव द्वय भानुभक्त ढकाल , महेश बस्नेत ,प्रतिनिधि सभा माननीय क्षितिज थेवे सहितको उपस्थितिमा युवामा खेलकुदप्रतिको आकर्षण बढाउने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड पुनः सोही स्थानमा आएर समापन गरिएको थियो । प्रतियोगितामा सहभागी धावकहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए ।


प्रतियोगितामा राजन रोकायाले निर्धारित १० किलोमिटर दूरी २९ मिनेट ५६।९ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । त्यस्तै खड्क बहादुर खड्का ३० मिनेट २६।७ सेकेन्डसहित दोस्रो भए भने मुकेश बहादुर पाल ३१ मिनेट ००।२ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।


यसैगरी, संजय श्रेष्ठ ३१ मिनेट ०७।४ सेकेन्डका साथ चौथो तथा सुशील शाही ३२ मिनेट ०७।६ सेकेन्डका साथ पाँचौँ स्थान हासिल गर्न सफल भए । विजेता धावकहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।


प्रतियोगिताको समापन समारोहमा बोल्दै आयोजकहरूले खेलकुदले युवालाई अनुशासित, ऊर्जाशील र राष्ट्रप्रति जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । राष्ट्रिय युवा संघ नेपालले आगामी दिनमा पनि युवालाई खेलकुदमार्फत एकताबद्ध गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक तथा खेल क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताले राजधानीमा खेलकुदमय वातावरण सिर्जना गर्नुका साथै युवा पुस्तामाझ दौड संस्कृतिलाई थप प्रवर्द्धन गरेको आयोजकहरूको विश्वास छ ।


Swadesh Maharjan | May 15th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya