Share on:

प्रेम कोइराला एसियन डेभलपमेन्ट प्यानलमा पर्ने पहिलो रग्बी रेफ्री
May 10th, 2026

काठमाडौँ। अन्तर्राष्ट्रिय रग्बी रेफ्री प्रेम कोइराला एसियन रग्बीको डेभलपमेन्ट प्यानलमा पर्न सफल भएका छन्। डेभलपमेन्ट प्यानलमा पर्न सफल उनी पहिलो नेपाली रेफ्री बनेका छन्।


उनले सन् २०२३ मा विश्व रग्बीबाट प्रदान गरिने “वर्ल्ड लेभल–२ डेभलपमेन्ट म्याच अफिसियल” रेफ्री सर्टिफिकेट प्राप्त गर्दै उक्त उपलब्धि हासिल गर्ने पहिलो नेपाली रग्बी रेफ्री बन्न सफल भए।


एसिया रग्बी रेफ्री कमिटीले प्रत्येक वर्ष सदस्य राष्ट्रका उत्कृष्ट रेफ्रीहरूलाई अनुभव, प्रदर्शन, मूल्याङ्कन र शारीरिक फिटनेसका आधारमा छनोट गर्ने गर्दछ। यही प्रक्रियाअन्तर्गत प्रेम कोइराला सन् २०२६ मा “डेभलपमेन्ट प्यानल” मा पर्न सफल भएका हुन्। यो उपलब्धि पाए सँगै प्रेमले अब एसिया रग्बी अन्तर्गतका आधिकारिक प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्न सक्नेछन्। साथै अब उनले आफ्नै खर्चमा अन्तर्राष्ट्रिय रेफ्री बन्नु पर्नेछैन।


कोइरालाले यो उपलब्धिलाई आफ्नो लामो समयदेखिको धैर्यता भनेका छन्। उनले भने, "मैले यसको लागि धेरै समय धैर्य भएर आफ्नो भूमिका निभाइरहे। त्यसको मूल्याङ्कन भएको ठानेको छु।"


यसअघि प्रेमले सन् २०२३ मा विश्व रग्बीबाट प्रदान गरिने 'वर्ल्ड लेभल–२ डेभलपमेन्ट म्याच अफिसियल' रेफ्री सर्टिफिकेट प्राप्त गरेका थिए। उनी यही वैशाख ३१ गते उज्बेकिस्तानमा आयोजना हुने सेन्ट्रल तथा दक्षिण एसियाली रग्बी प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह जाँदैछन्। प्रेम भन्छन्, "उज्बेकिस्तानको प्रदर्शन डेभलपमेन्टमा पर्ने आधार भनिएको थियो। तर त्यहाँ जानु अगाडि नै प्यानलमा परेको सूचना पाएँ। यो भन्दा खुसीको कुरा मेरो लागि के हुन्छ।"


डेभलपमेन्ट प्यानलमा गरेपछिको बढुवा भनेको ट्यालेन्ट आइडेन्टीफिकेसन प्यानल ( टीआइपी) र त्यसपछि इलाइट प्यानलको रेफ्री बन्नु हुन्छ। प्रेमले आगामी लक्ष्य त्यसैमा केन्द्रित हुने पनि बताए। 


Swadesh Maharjan | May 10th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya