
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बल क्लब (एपिएफ) ले उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली प्रदेश विरुद्ध १० विकेटको फराकिलो जित दर्ता गरेको छ।
जनकपुरमा सम्पन्न खेलमा कर्णालीले दिएको १०८ रनको सामान्य लक्ष्य सशस्त्र प्रहरी क्लबले मात्र १२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। टोलीका लागि दीपक बोहोराले अविजित ४२ रन बनाउँदा आसिफ शेखले अविजित ६५ रनको आक्रामक पारी खेले।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३६ ओभरमै अलआउट हुँदै १०७ रनमा सीमित भयो। कर्णालीका अर्जुन घर्तीले अविजित ३८ रन बनाए भने दीपेन्द्र रावतले २५ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली सस्तो स्कोरमै समेटियो।
सशस्त्र प्रहरी क्लबका बलरमध्ये कमल ऐरी र अभिषेक गौतम चम्किए। दुवैले समान ४–४ विकेट लिँदै कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पारे।
यस जितसँगै सशस्त्र प्रहरी क्लबले पछिल्ला पाँच खेलपछि पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमनको संकेत दिएको छ। यता कर्णाली प्रदेशले भने लगातार तेस्रो हार व्यहोरेको छ। जारी सिजनमा ६ खेल खेलेको सशस्त्र प्रहरी क्लबले ५ अंक जोडेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]