Share on:

विश्वकपमा भारतको विजयी सुरुआत
February 8th, 2026

काठमाडौं। अमेरिका आईसीसी टी–२० विश्वकपमा निराशाजनक सुरुआत गर्न बाध्य भएको छ। शनिबार सम्पन्न समूह ‘ए’ को खेलमा अमेरिका भारतसँग २९ रनले पराजित भयो।


१६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। यस जितसँगै भारतले समूह चरणमा महत्वपूर्ण दुई अंक जोडेको छ।


खेलको सुरुआतमै अमेरिकाले लगातार विकेट गुमाउँदै दबाब खेप्यो। एन्ड्रिज गाउस (६), साईतेजा मुक्कामल्ला (२) र कप्तान मोनाङ्क पटेल खाता नखोली आउट भएपछि अमेरिकी ब्याटिङ धराशायी बन्न पुग्यो।


माथिल्लो क्रम असफल भए पनि मिलिन्द कुमार ले ३४ रनको उपयोगी इनिङ्स खेले। साथै सञ्जय कृष्णमूर्ति र शुभम रञ्जाने ले आक्रामक ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धामा फर्काउने प्रयास गरे। कृष्णमूर्तिले ३७ रन बनाए भने रञ्जानेले मात्र २२ बलमा ३७ रन जोड्दै रनगति बढाएका थिए। तर अन्य ब्याट्सम्यानबाट साथ नपाउँदा अमेरिका लक्ष्य नजिक पुग्न सकेन।


बलिङतर्फ भारतका मोहम्मद सिराज ले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। अरशदीप सिंह र अक्षर पटेल ले समान २–२ विकेट हात पारे भने वरुण चक्रवर्ती ले १ विकेट लिए।


यसअघि वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनको मध्यम लक्ष्य खडा गरेको थियो। भारतीय कप्तान सूर्यकुमार यादव ले शानदार ब्याटिङ गर्दै ४९ बलमा ८४ रन जोडे। उनले १० चौका र ४ छक्का प्रहार गर्दै इनिङ्स सम्हाले।


तिलक बर्मा २५ रनमा आउट हुँदा इशान किसन ले २० रनको योगदान दिए। अक्षर पटेल ले १४ रन जोड्दै भारतको स्कोर १६० पार गराए।


अमेरिकाका लागि बलिङमा शाडली भान स्काल्कवाइक सर्वाधिक सफल रहे। उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिँदै भारतीय ब्याटिङ लाइनअपलाई दबाबमा राखे। हर्मित सिंह ले २ विकेट लिए भने अली खान ले १ विकेट हात पारे।


Swadesh Maharjan | February 8th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya