Share on:

ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा
June 7th, 2026

काठमाडौं। जापनमा आयाेजना हुने एसिन गेम्सकाे पुरुष क्रिकेट छनाेट खेलमा नेपालले ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित दर्ता गरेको छ।


ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बमले अविजित ४४ रनको  इनिङ्स खेले। उनले २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका रोहित पौडेल २१ रनमा अविजित रहे।


ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २० रन बनाए भने आसिफ शेखले १ रन जोडे। ओमानका लागि समिर ओथमानले २ विकेट लिए।


त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा समेटिएको थियो। ओमानका कप्तान सुफियान महमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ रन जोडे।


नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए भने कुशल मल्ला, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले १–१ विकेट हात पारे।


यो जितसँगै नेपालले फाइनलमा प्रवेश गरेकाे छ। नेपालले अब फाइनलमा हङकङ र मलेसियाबीचकाे विजेतासँग खेल्नेछ।


Swadesh Maharjan | June 7th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya