Share on:

यूएईमाथि नेपालको एक रनको रोमाञ्चक जित
October 12th, 2025

नेपाल आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिकको सुपर–सिक्सको आइतबारको खेलमा यूएईमाथि एक रनको रोमाञ्चक जित रचेको छ । यो जितपछि नेपालको दुई खेलबाट चार अंक भएको छ र विश्वकप छनोटको नजिक पुगेको छ ।

 

ओमानको अल अमिरत स्थित ओमान क्रिकेट स्टेडियममा जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको यूएईले नौ विकेटमा १ सय ३९ रन मात्र बनाउन सकेको थियो । यूएईका लागि एसिलसन सरफुले सर्वाधिक ५८ रन बनाए । उनले ४० बलको आक्रामक इनिङ्समा तीन चौका र पाँच छक्का प्रहार गरे ।


ध्रुव परासरले इनिङ्सको अन्त्यतिर १८ बलमा ३२ रन बनाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । यूएईलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो र त्यसमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपालको जित निश्चित गरे ।


यस अगाडि नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा छ विकेट गुमाएर १ सय ४० रन बनएको थियो । नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ५१ रनको योगदान गरे । उनले ४७ बलको सामना गरेर चार चौका र एक छक्का प्रहार गरे ।


यस्तै अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे । त्यसपछि यूएई खेलमा फर्केको थियो । उसको धारिलो बलिङका अगाडि नेपालले खुलेर रन बनाउन सकेन् र अपेक्षित स्कोर खडा गर्न सकेन् ।


Swadesh Maharjan | October 12th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya