
नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा बुधबार मैदानमा ओर्लिने एउटा टिम रहेको छ, सुदूरपश्चिम रोयल्स । उसले काठमाडौं गोर्खाजको सामना गर्दैछ । गत सिजनको प्रतियोगितामा सबैभन्दा राम्रो खेल्ने कुनै टिम थियो भने त्यो सुदूर पश्चिम नै थियो । उसले सबैभन्दा पहिले लिग चरणमा आफूलाई शीर्ष स्थानमा स्थापित गरेको थियो र त्यसका लागि सातमध्ये छ खेलमा जित निकालेको थियो ।
प्ले अफमा पनि जनकपुर बोल्ट्सलाई सुरुमै हरायो । तर यही टिमविरुद्ध फाइनलमा भने पराजित रह्यो । त्यसैले सुदूरपश्चिम टिममा अझै पनि त्यो हारको पीडा छ । तर यति भन्दा भन्दै टिम त्यो हारको पीडा बिर्सेर यसपल्ट नयाँ सुरुआत लिने पक्षमा पनि हुनेछ । खासमा हुनु पर्ने पनि यही हो । कम्तीमा अपेक्षा गर्न सकिन्छ, यसपल्ट सिजन टुमा पनि यो टिम अन्तिम चारमा रहनेछ, होइन् भने त्यसको अर्थ असफल नै मानिनेछ ।
फेरि एकपल्ट सुदूरपश्चिमका प्रमुख खेलाडी हुनेछन्, दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । यसपल्ट पनि टिम धेरै अर्थमा उनीमाथि नै निर्भर हुनेछ । यतिले मात्र पुग्ने छैन्, उनलाई विनोद भण्डारी, अविनाश बोहरा, आरिफ सेख र इशान पाण्डेको पनि बलियो साथ चाहिनेछ । हुन पनि पोहोरको टिमको उत्कृष्ट प्रदर्शन एउटो सिंगो टिमले सम्भव भएको थियो ।
सैफ जैबले टिम छाडेपछि भने सुदूरपश्चिममा एक खाले दबाब भने रहनेछ । त्यसको पूर्तिका लागि उसले क्रिस लिनलाई ल्याएको छ । टिमको एउटा अर्को महत्त्वपूर्ण पक्ष रहनेछ, प्रशिक्षक जगत टमाटा । उनी नेपाली घरेलु क्रिकेटका सबैभन्दा अनुभवी प्रशिक्षक हुन्, उनले जति नेपाली क्रिकेट कसले पो बुझेको छ होला र ? पक्कै पनि सुदूरपश्चिम टिमको प्रदर्शन हेर्न लायक रहने विश्वास गर्न सकिन्छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]