विश्व क्रिकेटमाथि एउटा गम्भीर आरोप छ, यसमा प्रमुख देश यो खेल आफूहरूबीच मात्र सीमित होस भन्न चाहन्छ । त्यसै त वान डे विश्वकपमा धेरै भन्दा धेरै देशको सहभागिता रहनेछ, बरु एक दर्जन भन्दा कम टिममै सीमित रह्यो । यो तुलना कहाँनिर बढी सान्दर्भिक हुन्छ भने विश्व खेलकुदको सबैभन्दा लोकप्रिय खेल फुटबलको विश्वकप भने झन झन फैलिंदैछ । त्यस अर्थमा विश्व क्रिकेटमाथि लागेको यो आरोप गम्भीर नै छ ।
सायद यो तथ्य अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि बुझेको छ । उसले वान डे विश्वकपलाई अझ विस्तार गर्ने आँट त गरेको छैन्, तर एउटा काम भने गरेको छ, ट्वान्टी ट्वान्टी विश्वकपलाई भने फैलाउने काम नै गरेको छ । जस्तो यसपल्टकै ट्वान्टी ट्वान्टी विश्वकप भनौं । यो प्रतियोगिताको दसौं संस्करण हो, यहाँसम्म आइपुग्दा सहभागी टिमको संख्या दोस्रो पटक २० पुगेको छ ।
सन् २०२४ को विश्वकपमा पनि २० टिमको सहभागिता थियो । सन् २००७ मा पहिलो पटक यस विश्वकपको आयोजना भएको बेला यसमा सहभागी टिमको संख्या थियो, १२ । यो क्रम चौथो विश्वकपसम्म कायम रह्यो, सन् २०१२ सम्म । त्यसपछि सन् २०१४ को पाँचौं संस्करण आइपुग्दा सहभागी संख्या बढेर १६ पुग्यो र यो आठौंसम्म कायम रह्यो, त्यो भनेको सन् २०२२ को विश्वकप । यस्तोमा एउटा प्रश्न बन्छ, अहिलेसम्म कति देशले यो विश्वकप खेलेका छन् त ?
यसको उत्तर हो, २४ । यो भनेको पछिल्लो विश्वकपसम्म भयो । इटाली यो विश्वकप खेल्ने २५ औं टिम हुनेछ । इटालीले यही विश्वकपमा डेब्यु गर्दैछ । सन् २०२४ मा क्यानाडा, युगान्डा र अमेरिकाले डेब्यु गरे । सन् २०२१ मा नामिबिया र पपुवा न्युगिनीले पहिलो पटक यो विश्वकप खेले । यस्तै सन् २०१६ मा डेब्यु गर्ने पालो थियो, ओमानका । सन् २०१४ मा नेपालसँगै हङकङ र यूएईले डेब्युको अवसर पाए ।
सन् २०१० मा अफगानिस्थान तथा सन् २००९ ममा आयरल्यान्ड र नेदरल्यान्ड्सले पहिलो पटक विश्वकप खेले । सन् २००७ मा पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको आयोजना गर्दा खेल्ने १२ टिम थिउ, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, केन्या, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र जिम्बावे । विश्व क्रिकेटका ठूला देशले के बुझ्नु पर्छ भने जति धेरै देशले यो खेल खेल्यो, यो त्यतिकै सबैको खेल हुने हो, नत्र यो केही देशमै मात्र सीमित रहनेछ ।